सुदूरपश्चिममा कोरोना संक्रमण घट्यो, मृत्यु दर घट्न सकेन
कैलाली । सुदूरपश्चिम प्रदेशमा गएको हप्तामा कोरोना भाइरसको सङ्क्रमण घट्दैै गएको देखिए पनि सङ्क्रमणको अनुपातमा मृत्यु दर घट्न सकेको छैन् ।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार गएको हप्तामा प्रदेशमा ४२ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सो अवधिमा १२ हजार ७६० जनाको नमूना परीक्षण हुँदा झण्डै १६ प्रतिशत अर्थात् दुई हजार ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
अघिल्लो हप्तामा ५७ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । सो अवधिमा १५हजार ३६१जनाको नमूना परीक्षण गरिँदा झण्डै २४ प्रतिशत आर्थात् तीन हजार ६२०जनामा सङ्क्रमण भएको पाइएको थियो ।
त्यस्तै गएको हप्तामा सात हजार ६१ जना उपचारपछि घर फर्किएका छन् । अघिल्लो हप्ता तीन हजार ८८६ जना उपचारपछि निको भएका थिए । निर्देशनालयका अनुसार पछिल्लो २४घण्टामा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडी जिल्लामा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ ।
प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आजसम्म भण्डै नौ प्रतिशत अर्थात् दुई लाख ३६हजार ६१९को कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।
प्रतिक्रिया