शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि

नेपालखोज २०७८ जेठ २५ गते ९:४५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आठ दशमलव पाँच प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र आज (जेठ २५ गते मंगलबार) बाट बिक्री खुला गरेको छ ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक आठ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्यबराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

आठ दशमलव पाँच प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको प्रतिकित्ता एक हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सोका लागि ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्कासनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ को आपसी सहमतिमा बिक्री वितरण गरिनेछ ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिनेछ । छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत नम्बर प्रदान गरेको छ ।

प्रतिक्रिया