बिहीबार, वैशाख १३, २०८१

एकैपटकमा १० सन्तान जन्माउनेदेखि यसअघि रेकर्ड तोडेका आमाहरुको अनुभव

नेपालखोज २०७८ जेठ २७ गते ८:१९

काठमाडौं । दक्षिण अफ्रिकाकी ३७ वर्षिया महिला गोसियामी थमारा सिटहोल एक साथ १० जना सन्तानलाई जन्म दिने संसारकै पहिलो महिला मात्र भएकी छैनन् उनको यो रेकर्ड टुट्न पनि लामो समय लाग्ने देखिन्छ ।

सिटहोलका श्रीमान टेबोगो त्सोतेत्सी यति बेला बेरोजगार छन् । ‘मेरी श्रीमती सात महीना सात दिनको गर्भवती थिइन्, म धेरै खुसी र भावुक महसूस गरिरहेको छु ।’ टेबोगो भन्छन्, ‘वास्तवमा म अहिले धेरै कुरा गर्न सक्ने स्थितिमा पनि छैन ।’ अहिले होलसेल स्टोरकी म्यानेजर सिटहोलसहित सबै नवजात शिशु सुरक्षित र पुर्ण रुपमा स्वस्थ छन् । यद्यपि नवजात शिशुहरूलाई अझै केहि दिन इन्क्यूबेटरमा राख्नु पर्नेछ ।

यसअघि यस्तै एउटा दुर्लभ घटनामा अफ्रिकी देश मालीको मोरक्कोमा एक महिलाले केहि महिनाअघि मात्रै एकसाथ ९ सन्तानलाई जन्म दिएकी थिइन् । माली सरकारले २५ वर्षकी हलीमा सिस्सेको राम्रो रेखदेखका लागि मार्च ३० मा उनलाई मोरक्को पठाएको थियो । जहाँ उनले ती सन्तानलाई जन्म दिएकी थिइन् । त्यस अघिसम्म ६ वटा सन्तान एकसाथ सफलतापूर्वक जन्माउने घटना दुर्लभ मानिएको थियो ।

दक्षिण अफ्रिकाकी महिला गोसियामी थमारा सिटहोलले पुराना सारा रेकर्ड तोड्दै आधुनिक मानव सभ्यतामै एकसाथ सबैभन्दा बढि सन्तान जन्माउने नयाँ कीर्तिमान खडा गरेकी छन् । एकसाथ सात छोरा र तीन छोरीकी आमा हुन सफल सिटहोललाई चिकित्सकहरुले पहिले आठ वटा सन्तान जन्मने सूचना दिएका थिए । यद्यपि सिजेरियनका क्रममा उनको पेटबाट दस वटा नवजात शिशु निकालियो । अपरेसन अघिको स्क्यानीङमा मात्र उनका दस जना सन्तान जन्मने कुरा पत्ता लागेको थियो । पहिले दुई गर्भस्थ शिशु गलत ट्युबमा गएर बसेका कारण स्क्यानीङमा देखिएका थिएनन् ।

‘सुरु सुरुमा म आफ्नो प्रेग्नेन्सिलाई लिएर हैरान थिएँ ।’ सिटहोल भन्छिन्, ‘मलाई मुस्किल भैरहेको थियो अनि म बिरामी पनि हुन थालेकी थिएँ । यद्यपि समयसँगै बिस्तारै बानी पर्दै गयो र म यही प्रार्थना मात्र गर्न थाले कि डेलिभरी आरामले भै दियोस् र मेरा सबै सन्तान स्वस्थ अन्मिउन् ।’
छ वर्षअघि नै सिटहोलले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् जसले अहिले एकसाथ दस जना भाइबहिनी पाएका छन् ।

मई महिनाको सुरुआतमा पाँच छोरी तथा चार छोरा जन्माउने मालीकी हलीमा सिस्से त्यतिबेला निकै बिरामी परेकी थिइन् । जसकारण उनले दुई साता अस्पताल मै बस्नु पर्यो । सन २००९ मा अमेरिकाकी नाद्या सुलेमानले पनि ८ सन्तानलाई एकसाथ जन्म दिएकी थिइन् ।
अफ्रिकी मिडियाहरुका अनुसार सिटहोल प्रेगनेन्सिका दौरान निकै बिमारी भएकी थिइन् । त्यो समय उनका लागि कष्टकर पनि रह्यो ।

सिटहोलको हवाला दिँदै अफ्रिकी मिडियाहरूले दिएको समाचारअनुसार गर्भावस्थामा उनको पुरा शरीर दुखिरहन्थ्यो तर अहिले सन्तान जन्मेपछि सन्तोषजनक अवस्थामा छिन् । सिटहोल दक्षिण अफ्रिकाका नौ मध्येको एक प्रान्त गोटेङकी बासिन्दा हुन् । सिटहोल भन्छिन् ‘मैले कुनै पनि प्रकारको फर्टिलिटी ट्रीटमेन्ट गराएकी थिइन ।’ प्रिटोरिया न्युजका अनुसार सिटहोलले २९ सप्‍ताहको गर्भावस्थापछि सन्तान जन्माएकी हुन् ।

सिटहोलले सुरुमा आफ्नो पेटमा ८ जना शिशु भएको कुरा पत्याएकी पनि थिइनन् र उनलाई त्यसमा बिश्वास गर्न गाह्रो भइरहेको थियो । सिटहोलका अनुसार उनी त्यतिबेला सोच्थिन् कि उनको गर्भमा यति धेरै बच्चा कसरी आए ? सिटहोललाई ती गर्भस्थ शिशु कसरी सकुशल बाहिर आउलान् भन्ने चिन्ता हुन्थ्यो । सिटहोल आफ्ना गर्भस्थ शिशुहरूको टाउको वा शरीरको अन्य भाग आपसमा नजोडिएको होस् भन्ने कामना गरिरहन्थिन् । उनकी चिकित्सक भने सबै ठीकठाक छ भन्दै हौसला बढाउँथिन् ।

प्रतिक्रिया