शुक्रबार, वैशाख १४, २०८१

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्तदेखि वितरण गर्ने

नेपालखोज २०७८ जेठ २७ गते १५:१८

वासिंटन । संयुक्त राज्य अमेरिकाले आगामी अगस्तदेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप वितरण सुरु गर्ने जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका हुन् ।

कोरोनाभाइरस महामारीविरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्तबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो ६ महिनाभित्रै ढुवानी भइसक्ने ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ ।

कुनै पनि मुलुकले कोभिडविरुद्धको खोप यति ठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलोपटक हो । अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको आठ करोड डोज खोपमध्ये करिब ७५ प्रतिशत खोप कोभाक्समार्फत वितरण हुनेछ जबकि २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिनेछ । झन्डै एक करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ ।

करिब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरुले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया