बिहीबार, चैत १५, २०८०

‘काठमाडौंका जेब्राक्रस छैनन् सुरक्षित, सडकमा हतार गर्नुहुँदैन’

विपिन गौतम २०७८ जेठ २८ गते १०:३३

नेपाल प्रहरीका अवकाशप्राप्त डीएसपी हुन् विपिन गौतम । महानगरीय ट्राफिक प्रहरी महाशाखामा डीएसपीका रुपमा समेत कार्यरत गौतम अहिले सामाजिक सन्जाला निकै सक्रिय छन् । उनले ‘सडक दुर्घटनास्थल हो, सधैं सजग रहौं’ भन्दै विभिन्न सन्देशहरु नियमित रुपमा बाँड्ने गरेका छन् । उनी आफैं पनि ट्राफिक प्रहरी महाशाखामा कार्यरत भएकै कारण सडकमा हुने सवारीसाधन दुर्घटनाप्रति अलि बढी संवेदनशीलसमेत छन् । उनले विभिन्न विद्यालय, कलेज, संघ-संस्थामा पुगेर सवारीसाधन दुर्घटना, पैदलयात्री सडकमा यात्रा गर्दा कसरी जोगिने ? कसरी सजग बन्ने ? जस्ता विषयमा तालिम, अन्तर्क्रिया तथा सचेतना जगाउँदै आएका छन् । कोरोना महामारीका कारण अहिले मुलुकमा लकडाउन भए पनि उनले सामाजिक सन्जालकै माध्यमबाट जनतालाई सडकमा कसरी सुरक्षित रहने र कसरी सुरक्षित यात्रा तय गर्ने भन्ने विषयमा लेख, रचना, प्रवचनहरु पनि दिइरहेका छन् । निकै शान्त र भद्र प्रहरी अधिकृतका रुपमा छवि बनाएका गौतम जागिरे समयमा झै अहिले पनि सचेतनाका लागि उत्तिकै जागरुक र क्रियाशील छन् । उनले सामाजिक सन्जालमार्फत सवारीसाधनबाट हुने दुर्घटना र दुर्घटनाबाट जोगिने उपायहरु सुझाएका छन् । सवारीसाधनको दुर्घटनाबाट जोगिने उपाय उनकै शब्दमा :

सवारीसाधन दुर्घटनामा विश्वको अवस्था (संख्या) हेर्दा नेपाल पनि अग्रपंक्तिमा आउँछ । नेपालमा पनि सवारीसाधन दुर्घटनामा धेरै मानिसले ज्यान गुमाउनुपरेको अवस्था हामीमाझ छ । सामान्यत: पैदल यात्रा गर्दा सवारीसाधनको दुर्घटनामा कसरी बाँच्ने ? दुर्घटनाबाट कसरी जोगिने ? भन्ने विषयमा सर्वसाधारण अनभिज्ञ भएको मान्न सकिन्छ । कतिपय अवस्थामा हेलचेक्रयाइँ गरेको पनि पाउन सकिन्छ । यसैले पनि हाम्रो मुलुकमा सवारीसाधनको दुर्घटना हुने क्रम बढेको हो ।

सडकमा पैदलयात्री सुरक्षित रहनका लागि धेरै मिहिनेत गर्नुपर्दैन । सामान्य नियमहरु पालन गरे मात्र पनि पैदलयात्रीको यात्रा सुरक्षित हुन पुग्छ अर्थात् दुर्घटनाबाट बाँच्न सकिन्छ ।

यत्ति नियम अपनाउँदा दुर्घटनाबाट जोगिन सकिन्छ :
पैदलयात्री सडकको किनारामा गइसकेपछि रोकिनुपर्छ । सवारीसाधन जहिले पनि पैदलयात्रीको दायाँतर्फबाट आइरहेको हुन्छ । र सडकमा रोकिइसकेपछि पैदलयात्रीले सडकको दाहिने किनारतर्फ हेर्नुपर्छ । यदि दाहिनेतर्फबाट कुनै पनि सवारीसाधन आएको छैन भन्ने एकिन भएपछि पनि हतारमा बाटो काट्नु हुँदैन । बरु एकछिन रोकिएर, पर्खिएर, दाहिने हेरेर कानले समेत सुन्नुपर्छ । कानले सुन्नुपर्छ भन्नुको तात्पर्य उताबाट कुनै सवारीसाधन आउँदै छ कि भन्ने आवाज थाहा पाउनुपर्छ भनेको हो । त्यसपछि भने बायाँपट्टि हेर्नुपर्छ । अझ आधा बाटो काट्नेबेलासम्म दायाँतर्फ हेर्ने र त्यसपछि बायाँतर्फ हेरेर बाटो काट्नुपर्छ ।

काठमाडौंका जेब्रा क्रस छैनन् सुरक्षित :
हामीसँग जेब्रा क्रस त छन् । अझ विशेषगरी काठमाडौंका जेब्रा क्रस सुरक्षित छैनन् । किनभने जेब्रा क्रस भएका स्थानहरुमा ट्राफिक (सिग्नल) बत्तीहरु हुनुपर्छ । जसले सवारीसाधन व्यवस्थापन वा रोक्नलाई मद्दतसमेत पुर्‍याउँछ । अर्थात् जेब्रा क्रस भएका स्थानमा ट्राफिक बत्ती भएको अवस्थामा सवारीसाधन रोक्नमा सहज हुन्थ्यो र पैदलयात्रीले सुरक्षित रुपमा बाटो काट्न पाउँथे । कि भने जेब्रा क्रस भएका स्थानहरुमा ट्राफिक प्रहरी हुनैपर्छ । ट्राफिक प्रहरीले आफ्नो इसारामा सवारीसाधन रोकिसकेपछि भने पैदलयात्रुको यात्रासमेत सुरक्षित हुन्छ । अर्थात् सवारीसाधन रोकिएका समयमा पैदलयात्रुलाई बाटो काट्न सहज हुन्छ । त्यसैले पनि नेपालका विशेषगरी काठमाडौंका जेब्रा क्रस भएका स्थानहरु बढी सुरक्षित हुन नसकेको हामी पाउन सक्छौं । जेब्रा क्रसमा ट्राफिक बत्ती वा ट्राफिक प्रहरी भएको अवस्थामा भने सवारीसाधनको दुर्घटनाबाट बाँच्ने सम्भावना धेरै रहन्छ या दुर्घटना न्यूनीकरणमा मद्दत पुग्छ ।

विपिन गौतम

गौतम नेपाल प्रहरीका पूर्वडीएसपी हुन् ।

प्रतिक्रिया