बुधबार, वैशाख १२, २०८१

चितवनमा निषेधाज्ञा अवधिमा ७८ कैदीबन्दी थपिए

रासस २०७८ असार १ गते ७:५०

चितवन । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् ।

कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उनले जानकारी दिए । उनका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् ।

यस्तै खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कागाजात किर्ते र कर्तव्य ज्यानका दुई-दुई, जिउ मास्ने बेच्ने एक तथा गैँडा तस्कर एक जना रहेका छन् ।

यस्तै नवलपुर जिल्ला अदालतबाट आएकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषध मुद्दामा चार, जबर्जस्तीकरणीमा तीन, सवारी ज्यानमा दुई र बहुविवाहका दुई जना रहेका छन् । काफ्लेका अनुसार बैंकिङ कसुर, भ्रष्टाचार र डाँका मुद्दाका एक-एक जना रहेका छन् ।

मकवानपुरबाट लागूऔषध मुद्दाका एक जनालाई कारागार कार्यालय चितवन पठाइएको छ । सोही समयावधिमा कार्यालयबाट ६२ जना छुटेका छन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आम माफी पाएका १६ र अन्य कैद भुक्तान गरेर र अदालतबाट मुद्दा फैसला भएर छुटेका हुन् ।

यस समयमा कारागार आएका कैदीबन्दीलाई कारागारभित्रै १५ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनका लागि भित्र छुट्टै कोठाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अहिले कारागार कार्यालय चितवनमा ६७५ कैदीबन्दी रहेका छन् । पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५२-५५ जना क्षमताको पुरुष बन्दीगृहमा ६२३ कैदीबन्दी रहेका छन् । कारागारमा तीन आश्रित बालिका रहेका छन् ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया