बिहीबार, वैशाख १३, २०८१

मध्यपहाडी राजमार्ग : पश्चिम खण्डमा सुरु भयाे कालोपत्रको काम

नेपालखोज २०७८ असार १ गते ११:४९

दैलेख । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ ।

सदरमुकामको पश्चिम रावतकोटबाट पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरवाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा काम यो वर्षबाट शुरु गरिएको छ । निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात जेठ २५ देखि करिब १६ किलोमिटर सडकखण्ड कालोपत्रको काम शुरु गरिएको छ ।

गत वर्ष चैतदेखि कोरोना सङ्क्रमण बढेपछि काम रोकिएको र यस वर्षको असारसम्म १० किलोमिटर कालोपत्र सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिएका छन् । कम्पनीको म्याद थपसमेत हुनसकेको छैन ।

करिब ३१ किलोमिटर सडकमध्ये मनसुनअघि नै करिब १० किलोमिटर सडक कालोपत्र गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा अर्जुन बमले बताए । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तर, आएका समस्या समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ ।

सदरमुकामको पूर्वी क्षेत्र लोहोरेबाठ सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । देशकै गौरवको आयोजना भएकाले सडकखण्डमा देखिएका समस्याको स्थलगतरूपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

आफू जिल्लामा आएलगत्तै गौरवका आयोजना र अन्य सबै योजनाको प्रभावकारिताका बारेमा सम्बन्धित सबै निकायसँग समन्वय, निर्देशन र अनुगमनलाई प्रभावकारी बनाएको प्याकुरेलको भनाइ छ । कामको गुणस्तर र सडक क्षेत्रमा बायोइञ्जीनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरूपमै सुझाव दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।

दैलेखको पूर्वदेखि पश्चिम खण्डका अधिकांश भूभाग मध्यपहाडी राजमार्गले छोएका कारण जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने नेपाली कांग्रेस दैलेखका पार्टी सचिव भूपेन्द्र शाहीले बताए । जिल्लाभर १२५ किलोमिटर सडक एक वर्षभित्र सबै स्थानमा कालोपत्र सक्ने तयारी गरिएको छ ।

प्रतिक्रिया