बुधबार, वैशाख २६, २०८१

‘चुनाव गराउन गृह मन्त्रालय तयारी अवस्थामा छ’

नेपालखोज २०७८ असार १ गते २०:०१
फाइल फोटो

काठमाडौं । गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् ।

गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताएका हुन्। आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए ।

उनले भने, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेतको रणनीतिका साथ चुनाव आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ । र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि अगाडि बढ्न रोकिनुपर्ने केही कारण छैन । सबै तयारी छ । आवश्यक लजिस्टिकदेखि लिएर जनशक्ति विन्यासदेखि लिएर सुरक्षा प्रबन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको छ । यसको कार्यान्वयनका सम्बन्धमा दलहरूसँगको एउटा सहमति, सहकार्यपछि अगाडि बढ्दा हामीलाई तयारी पुगेन भन्नुपर्ने केही कारण छैन । तोकिएको मितिमा चुनाव गर्न हाम्रो मन्त्रालय पूर्णरूपमा तयारी हालतमा छ ।’

उनले सीमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई यो कुरा बुझिदिन आग्रह पनि गरे । उनले भने, ‘नेपालीहरू सीमाको आफ्नो सार्वभौमिकताबारे अत्यन्तै संवेदनशील छन् । जसरी अरू देश संवेदनशील छन् । त्यसरी नेपालीहरूको संवेदनशीलता बुझिदिन हामी अनुरोध गर्न चाहन्छौँ । हामी हाम्रो सीमा रक्षाका लागि अरूले हाम्रो संवेदनशीलता बुझिदिनुपर्छ भन्ने कुरा प्रष्ट राख्न चाहन्छौँ ।’

मन्त्री अधिकारीले कोभिड–१९ विरुद्धको खोपको तेस्रो ट्रायलमा जाने ढाँचाको खोप ल्याउने विषयमा पनि छलफल गरीरहेको पनि बताए ।

प्रतिक्रिया