बुधबार, वैशाख १९, २०८१

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १७५ सवारी साधन प्रहरीको नियन्त्रणमा

नेपालखोज २०७८ असार १ गते २०:१९

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय २ वटा गाडी र १ हजार ६ सय ७३ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ३ सय १५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय २२ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३७ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ९ सय १६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६७ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ५ सय ४ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया