मंगलबार, वैशाख ११, २०८१

मेलम्ची खोलाले बगाउँदा कम्तीमा ७ जना बेपत्ता, तिम्बु, चनौटे र ग्याल्थुम क्षेत्र बढी प्रभावित

मेलम्ची खानेपानी सुरुङको ड्याम र नेसनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षति हुनुका साथै मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरु बसेको क्याम्प पनि बगायो

नेपालखोज २०७८ असार १ गते २१:३०

काठमाडौं । मेलम्ची खोलामा आएको बाढी र पहिरोले बगाउँदा कम्तीमा सातजना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले नदी आसपास क्षेत्रमा माछापालान व्यवसायसमेत बगाएको छ । नदी आसपास रहेका घर टहरा पनि बगाएको स्थानीयले बताएका छन् । पानीको बहाब बढ्दा हेलम्बुको चनौटे बजारबाट नदी बगेको स्थानीयले बताएका छन् । यस्तै मेलम्ची पार्क र तल्लो बजार पनि डुबानमा परेको स्थानीय मेनुका दुलालले जानकारी दिइन् । ‘मेलम्ची खोला किनारका खेतहरु बगाइसक्यो,’ उनले नेपालखोजलाई भनिन्, ’तिम्बु, चनौटे र ग्याल्थुम क्षेत्र डुबानमा परेको छ । यहाँ बत्ती नहुँदा क्षतिबारे सबै थाहा पाउन सकिएको छैन ।’

पानीको वहाबसँगै आएको बाढीका कारण प्रभावित स्थानीय बासिन्दा सुरक्षित स्थानको खोजीमा रहेका छन् । बाढीको कारण हेलम्बुको मेलम्ची खानेपानीको शिरमा रहेको नाकुतेको पुलसमेत बगाएको खबर प्राप्त भएको छ । लगातार वर्षा भइरहेकाले खोलामा पानीको वहाब बढ्ने क्रम जारी छ ।

यस्तै मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरु बसेको क्याम्प पनि बाढीले बगाएको छ ।

मेलम्ची खानेपानी सुरुङको ड्याम र नेसनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षति भएको छ । अहिले पानीको बहाव झनै बढेर मेलम्चीस्थित मेलम्ची पार्कभित्र रहेको मन्दिरसमेत पुरिएको छ । दुलालका अनुसार रातभर वर्षा नरोकिए बाढीको बहावमा पनि कमी नभए नदी आसपासका क्षेत्रका बस्ती झनै संकटमा पर्नेछ ।

प्रारम्भिक क्षतिको विवरण :
१. नाकोटे पुल
२. मेलम्ची खानेपानीको हेडबक्स
३. तिम्बु बजार
४. चनौटे बजार
५. खोला किनारका ८ वटा माछा फर्महरु
६. खेतीयोग्य जमिन
७. मेलम्ची बसपार्क

मानवीय क्षतिको वास्तविक विवरण भने आएको छैन ।

प्रतिक्रिया