मंगलबार, मंसिर १८, २०८१

बाढीपीडितलाई राहत दिन र उद्धार गर्न सरकारसँग प्रचण्डको आग्रह

नेपालखोज २०७८ असार २ गते १३:३३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी-पहिरोमा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहत दिन सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आज एक विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका हुन् । उनले बाढी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पंक्तिलाई एकीकृत रूपमा परिचालित हुनसमेत आग्रह गरेका छन् ।

यस्तै, अध्यक्ष दाहालले विपत्‌मा परेर ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, बेपत्ताको खोजी गर्न तथा घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नसमेत माग गरेका छन् । मौसमविद्को पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभवसमेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण पनि जनधनको क्षति भएको अध्यक्ष दाहालको आरोप छ ।

यस्तै, माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले पनि बाढी-पहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गरेको विज्ञप्तिमा खोज, उद्धार र राहत कार्यमा जुट्न आग्रह गरिएको हो ।

प्रतिक्रिया