नेप्से २,९६८ अंकमा सीमित, यी हुन् बढी कारोबार हुने कम्पनी
एकाएक बढेको सेयर बजारमा धितोपत्र बोर्डको विज्ञप्तिले लाग्यो ब्रेक, सातामा ८१ अर्ब ३५ करोड रुपैयाँको खरिद-बिक्री

काठमाडौं । सेयर बजारमा यो साता तीव्र उतारचढाव आएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नै बढ्न थालेको नेप्से दुई कार्य दिनसम्म लगातार उच्च अंकले बढेको थियो । सोपश्चात् नेपाल धितोपत्र बोर्डले सेयर बजारमा भएको नकारात्मक कार्य र चलखेल भएको भन्दै ५१ कम्पनीको नामावली नै सार्वजनिक गरेपछि धितोपत्र बजारमा एकाएक तरंग फैलियो । उच्च अंकले घटेको नेप्सेमा त्यसपछि लगातार गिरावट आयो ।
सोही आधारमा यो साता नेप्से २९ सय ६८ दशमलव ४३ अंकमा सीमित रहन पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दशमलव १२ अंकमा सीमित हुन पुगेको छ । जसअनुसार दुई सय २६ कम्पनीको आठ लाख १५ हजार एक सय ३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसअनुसार यो कुल ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार एक सय ४७ रुपैयाँ कारोबार भएको छ । यो कारोबार रकम गत साताको भन्दा केही बढी हो ।
गत साता भने नेप्सेमा दुई सय २१ वटा कम्पनीको सात लाख ५३ हजार ६ सय ३९ पटकको कारोबारमा १७ करोड पाँच लाख ९० हजार ६ सय ४३ कित्ता सेयर खरिद-बिक्री भएका थिए । जसअनुसार उक्त साता ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुला रहेकामा पहिलो र दोस्रो दिन उच्च अंकले बढेको थियो । तेस्रो, चौथो र पाँचौं दिन भने नेप्से घटेको थियो ।
जसका आधारमा पहिलो कार्य दिन अर्थात आइतबार ३८ दशमलव ३२ अंकले बढेर २९ सय ८३ दशमलव १० अंकमा चढेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा एक दशमलव २९ अंकले घटेर दुई हजार नौ सय ६८ दशमलव ४३ अंकमा सीमित हुन पुगेको थियो ।
यसैगरी अघिल्लो साता सेन्सिटिभ पनि ११ दशमलव ५४ अंकले बढेर पाँच सय ३९ दशमलव ४१ अंकमा सीमित हुन पुगेकामा यो साता अन्तिम दिन पनि शून्य दशमलव ५८ अंकले घटेर पाँच सय ४१ दशमलव १२ अंकमा सीमित हुन पुगेको थियो ।
नेपाल पुनर्बिमा कम्पनी, नेसनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको यो साता बढी रकम कारोबार भएका छन् ।
यसैगरी सेयर कारोबार भएको संख्याका आधारमा भने यो साता नेसनल हाइड्रो पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि अगाडि परेका छन् । पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
यो साता विकास ऋणपत्र २०८३ (घ), सिटिजन्स इन्टरनेसनल बैंकको मर्जरपश्चात् कायम भएको सेयर आदि नेप्सेमा नियमित कारोबारका लागि सूचीकृत भएका छन् । यसबाहेक सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस सेयर पनि सूचीकृत भएका छन् ।








प्रतिक्रिया