बिहीबार, मंसिर २७, २०८१

‘सभ्यताको सुरुवात भएको भूमिमा असभ्यताको फागु खेलिरहेका छौं’

नेपालखोज २०७८ असार ७ गते १६:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यताको सुरुवात भएकोे भूमिमा अहिले असभ्यताको फागु खेलीरहेको बताएका छन् ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । साथै उनले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् । साथै उनले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताए । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयाैं पिढीँसम्म दुख्ख पाइनेछ’, उनले भने ।

अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल हेरी नसक्नु हुन्छ’ । सभ्यताको सुरुवात भएको भूमिमा अहिले हामी असभ्यताको फागु खेलीरहेको उनले बताए । योगाभ्यासले यो साँस्कृतिक अधपतन रोक्नुपर्ने विचार राख्दै प्रधानमन्त्रीले भने, ‘हामीले भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियोे भने दुई पुस्ता वित्दा पनि बनिसक्दैन् । त्यसकारण योग गुरुहरुले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्छ ।’

योगका आठ अंगहरुमध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा सत्य प्रतिको निष्ठा र असत्यलाई अस्विकार गर्नु भएको उनको भनाई थियो । ‘सत्यमा अडिग रहुँ । सत्यको निष्ठा पुर्वक पालना गर । असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यसविरुद्ध लड । यमले सही भन्छ’, उनले भने ।

योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्तिलाई परित्याग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राखेका छन्। आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणामसमेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको बताएका छन् । यसका लागि पाठ्यक्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना गर्ने तथा सिकाउने अभ्यास गर्नुपर्ने धारणा उनको थियो ।

प्रतिक्रिया