शनिबार, वैशाख १५, २०८१

व्यासको नगरसभामा पाँच विधेयक प्रस्तुत हुने

नेपालखोज २०७८ असार ८ गते ६:००

दमौली । व्यास नगरपालिकाले ३५ औं नगरसभामा पाँच विधेयक प्रस्तुत गर्ने भएको छ । कार्यपालिकाको बैठकले आगामी वर्ष २०७८/०७९ को बजेट, कार्यक्रम सम्बन्धित समितिबाट पेश भएको प्रस्ताव माथि छलफल गरी संशोधनसहित नगरसभामा पेश गर्ने निर्णय गरेको हो । यही असार १० गते नगरसभा बस्ने जनाइएको छ ।

नगरपालिकाको भाषा, संस्कृति, साहित्य संरक्षणका लागि ‘व्यास नगर प्रज्ञा प्रतिष्ठान विधेयक ,व्यास नगर ऐतिहासिक एवं महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण सम्बन्धी विधेयक, व्यास नगरपालिकामा कार्यरत स्थानीय तहका स्थायी कर्मचारी समायोजन सम्बन्धी विधेयक, व्यास नगरपालिका आर्थिक विधेयक र व्यास नगरपालिका विनियोजन विधेयक २०७८ नगरसभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकले नगरपालिका क्षेत्रभित्रका खोप लगाउनुपर्ने सम्पूर्ण बालबालिकालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्ड अनुसारका सम्पूर्ण खोप लगाइएको हुँदा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ ।

नगरपालिकाले अगामी साउन मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्ने भएको छ । यसका लागि सम्बन्धित वडाको अध्यक्ष वा निजले तोकेको सदस्य संयोजक चयन हुनेछन् । समितिमा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधि सदस्य र समितिले मनोनयन गरेको एक जना महिला सहित दुई अभिभावक सदस्य चयन हुनेछन् । सम्बन्धित विद्यालयको प्रधानाध्यापक सदस्य सचिव हुने व्यवस्था छ ।

नगरक्षेत्रभित्रका विद्यालयहरुको व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घहरुको कार्यकाल २०७८ जेष्ठ मसान्तमा समाप्त भएको र असार १ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन भएकाले नियमानुसार व्यवस्थापन समिति गठन नहुँदासम्म यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया