शुक्रबार, वैशाख ७, २०८१

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्याे

रासस २०७८ असार ८ गते १४:०४

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या ३ सय पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो ।

पहिलो लहरमा ४० जनाको मृत्यु भएकोमा दोस्रो लहर सुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३सय पुगेको हो । प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।

पछिल्लो चौबीस घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको अद्यावधिक तथ्याङ्कअनुसार २७ हजार ४२१ जना कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५८२ रहेको छ । स्वास्थ्य निर्देशक डा रबिन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि सङ्क्रमण दर भने नघटेको बताए ।

‘सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ’, उनले भने, ‘कोरोनाको दोस्रो लहरको सुरुवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सर्तकता अपनाउन जरुरी छ ।’, सङ्क्रमण रोकथामका लागि यहाँका सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया