निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४०४ सवारी साधन प्रहरीको नियन्त्रण
काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४०४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये छ सय १६ वटा गाडी र एक हजार सात सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा एक सय ८९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा चार लाख ५८ हजार तीन सय ७९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ८६ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १८ हजार छ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा दुई हजार तीन सय १४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत चार हजार आठ सय ४१ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जानकारी दिएको छ ।
प्रतिक्रिया