देशका केही स्थानमा चट्याङसहित भीषण वर्षाको सम्भावना
काठमाडौं । देशका कतिपय स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापीय रेखामा रहेकाले मुलुकका अधिकांश भेकमा सामान्यदेखि पूर्ण बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (शुक्रबार) बिहान प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भने चट्याङसहित भीषण वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।
राति भने प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ ।
ती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
फाइल तस्बिर ।
प्रतिक्रिया