शुक्रबार, वैशाख १४, २०८१

मेलम्चीपीडितलाई बीपी स्टडी सर्कलको सहयोग

नेपालखोज २०७८ असार १६ गते ७:०७

काठमाडौं । बीपी स्टडी युथ सर्कलले मेलम्ची ग्यालथुमलाई ५० बोरा खाद्यान्न र ६० थान जस्तापाता हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा सर्कलले मेलम्ची ४ का वडाध्यक्ष राजकुमार लामिछानेलाई उक्त खाद्यान्न हस्तान्तरण गरेको हो । वडाध्यक्ष लामिछानेले जो जसलाई सामग्री आवश्यक छ सोहीअनुसार पहिचान गरेर स्थानीयलाई वितरण गरिने बताए। उनले भने, ‘बाढीको जोखिम भोग्दै गर्दा हामीलाई सम्झेर आउने यो टिमलाई धन्यवाद छ ।’

सर्कलका सल्लाहाकारसमेत रहेका शाहीले भने, ‘मेलम्चीलाई पीडा पर्दा कर्णालीलाई पनि दुख्नुपर्छ, यो पीडाबाट बाहिर निस्कन हामी सबै जुट्नुपर्छ।’ बीपी युथ सर्कलका अध्यक्ष ऋषि कोइराला, सर्कल वाग्मती प्रदेशका अध्यक्ष सुबन गिरीले मेलम्चीका बासिन्दाको पीडामा आफूहरु सँगै रहेको बताए ।

मेलम्चीमा आएको बाढीका कारण भैंसी फार्म बगाएका स्थानीय युवाको फार्म पुन सञ्‍चालन होस् भनेर सर्कलले ३० थान जस्तापाता सहयोग गरेको थियो भने बाँकी ३० थानजस्ता बाढीका कारण घर बगाएकाहरुको घर निर्माणमा सहयोग पुगोस् भनेर वितरण गरिएको थियो ।

प्रतिक्रिया