सोमबार, मंसिर १७, २०८१

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना

नेपालखोज २०७८ असार २१ गते ७:३९

काठमाडौं । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशका पहाडी भू–भागमा पहिरोको जोखिम रहेको साथै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण देशका अधिकांश भू–भागहरूमा मौसम बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकीका केही स्थान र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया