शुक्रबार, वैशाख ७, २०८१

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ असार २२ गते ८:४६

काठमाडौं । नेपाल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज (मंगलबार) पाँचवर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘ङ’ बिक्री गर्न लागिएको हो ।

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आन (मंगलबार) दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकका अनुसार निष्कासन मिति २०७८ असार २३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८३ असार २३ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमामा ब्याजकरसमेत लाग्नेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुल ऋणपत्रमध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । राष्ट्र बैंकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारीसमेत राष्ट्र बैंकले गरेको छ। खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्प्रार्धीका रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ । अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

प्रतिक्रिया