आरबीबी म्युचुअल फन्डको बिक्री खुल्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आरबीबी म्युचुअल फन्डअन्तर्गत एक अर्ब रुपैयाँ (दश करोड एकाइ) को आरबीबी म्युचुअल फन्ड-१ आज (बुधबार) देखि बिक्री खुला गरेको छ ।
यस योजनाको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो । यो योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवर्द्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल एकाइ रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले दुई प्रतिशत रकम बिज पुँजीका रुपमा लगानी गर्नेछ । प्रतिएकाइ मूल्य १० रुपैयाँ रहेको म्युचल फन्डमा अधिकतम एक करोड एकाइ संख्यासम्म लगानी गर्न सकिनेछ ।
एकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको एकाइहरु निष्कासन गर्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयरको बेवसाइटमा गई आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फन्ड ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ ।

प्रतिक्रिया