प्राकृतिक चिकित्साको उपचार पद्धति : तेल मालिस
प्राकृतिक उपचारको एउटा रुप तेल मालिस !
मालिस अत्यन्त लोकप्रिय प्राकृतिक उपचार विधि हो। मौसम परिवर्तन, वातावरणीय प्रदूषण, गलत आहार-विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिले शरीरका साम्य अवस्थामा रहेका पञ्च महाभूतको असन्तुलनबाटै विभिन्न रोगको जन्म हुन्छ । फलतः व्यक्ति (मानिस) रोगी हुन पुग्दछ । प्राकृतिक चिकित्साको सिद्धान्तअनुसार यी असन्तुलित पञ्चमहाभूतहरूलाई साम्य अवस्थामा ल्याएर सन्तुलित गराएमा रोगी पुनः स्वस्थ्य जीवनमा फर्कन्छ । पञ्चमहाभूत सन्तुलनका लागि प्राकृतिक चिकित्सामा विभिन्न किसिमका उपचार विधिहरु छन् जसमध्ये तेल मालिस पनि एउटा उपचार पद्धति हो।
स्वस्थ व्यक्तिले तेल मालिसयोग्य मालिसकर्तासँग गराउन सक्छन् । रोगीले मालिस गराउनुपूर्व प्राकृतिक चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, पञ्चमहाभूतको अवस्था, व्यक्तिको बल, वय (उमेर) र रोगावस्था आदिबारे पूर्ण जानकारी लिनेछन् ।
‘मालिस गर्ने तेलको छनोट व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ’
मालिसको प्रकार, समय, मालिसको कला र स्नेहन द्रव्य (तेल) छनोट व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ । रोगीको रोगलाई हेरेर रोग सामक तेलको प्रयोग नै तेल मालिसको विशेषता हो । यी औषधिय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै तेल मालिस हो ।
तेल मालिसका फाइदा
व्यस्तताले भरिएको तनावग्रस्त आधुनिक जीवनशैलीका लागि तेल मालिस अमृत समान हो । विशेषतः कफ तथा बाथ रोगहरुमा तेल अत्यन्त लाभदायक छ । तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक । सुन्निएको अवस्थामा अभ्यङ्ग गराउनु हुँदैन । उपयुक्त औषधिय द्रव्यहरुको छनोट गरेर गराइएको मालिसले स्वस्थ्य जीवन चाहने जो कोहीलाई पनि पोषण गर्दछ ।
१. निद्रासम्बन्धी समस्यहरु जस्तै, निद्रा नआउने, बीचबीचमा निद्रा टुटिरहने, गहन तथा आरामदायी निद्राको अवस्थासम्म पुग्न नसक्ने, स्वप्ना ज्यादा देख्ने, निद्रामा बरबराउने आदि समस्यमा लाभदायक छ ।
२. त्वचाको रक्तसञ्चारलाई बढाएर भोजनबाट प्राप्त पोषक तत्त्वहरु र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसञ्चार हुने, त्वचाको बाह्य स्थानसम्म पुर्याइ पोषण गर्दछ । फलतः मृत कोषहरु हटाएर त्वचालाई सुन्दर बनाउँछ ।
३. दिसा-पिसाब, पसिनाजस्ता विजातीय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।
४. जोर्नीहरुको कार्यक्षमता बढाइ शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ ।
५. इन्द्रीयहरु निर्विकार हुन्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रङ चुस्त रहन्छन् ।
६.तनावदूर गराएर मानसिक प्रशन्नतालाई जीवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा तेल मालिस सहायक छ ।
७. कम उमेरमै देखापरेका बूढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने, चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड-जोर्नीहरु खिइने, रगतका नसाहरू साँघुरिएर रक्तचाप बढ्नेजस्ता समस्यामा तेल मालिस लाभकारी मानिन्छ ।
८. धातु क्षयलाई रोक्दछ, अनुहारमा चमक ल्याउँछ ।
डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया