बिहीबार, वैशाख १३, २०८१

पिठ्युँमा राहतकाे चामल, काखमा बच्चा !

राहत लिन बच्चा बोकेरै पाँच घण्टाको हिँडाइ

नेपालखोज २०७८ असार २५ गते १२:१३

चितवन । मकवानपुरको राक्सिराङ गाउँपालिका मैसिराङकी २२ वर्षीया अनुष्का चेपाङ राहत लिन एक वर्षकी छोरी बोकेर मनहरी झरिन् । भीरको बाटो छिचोलेर खोला तर्दै पूर्व–पश्चिम राजमार्गमा आइपुग्न झन्डै पाँच घण्टा लाग्यो ।

घरमा खाद्यान्नको चरम अभाव छ । मजदुरी गर्न रोल्पा गएका उनका श्रीमान नआएको चार महिना भयो । कमाइ नभएपछि किनेर खान सक्ने अवस्था छैन । ‘घरमा खानेकुरा केही छैन । गिठ्ठा खाएर बसेका थियौं । दुःखै भए पनि राहत पाइन्छ कि भन्ने आशमा आएको’, उनले भनिन्, ‘राहत पाएँ, अब ढुक्क भयो ।’

संगै आएका साथीसंग सल मागिन् । ३० किलो चामलको बोरा, नुन, तेल, दालको झोला अनि काखमा छोरी बोकेर उकालो लागिन् । ५ बजे मनहरीबाट उकालो लागेका उनीहरूले मध्यरात घर पुग्ने बताए ।

अनुष्कासँगै मैसिराङका ७० परिवार मंगलबार बिहानै मनहरी झरेका थिए । घरमा छाक टार्ने विकल्प नभएपछि उनीहरु राहत लिन आएका हुन् । अञ्जली चेपाङ पनि छोरो बोकेर आएकी थिइन् ।

‘खोला तर्दै पहिरोको डर मानेर आउनुपर्छ । घरमा खानेकुरा कमजोर भएर राहत दिन्छ भनेर आशमा आको हो’, उनले भनिन्, ‘राहत पाइयो अब केही दिनलाई ढुक्क भयो ।’ अञ्जलीका चार सन्तान छन् । यसपटक पानी ढिलो परेर मकै पनि राम्रो भएन । अहिले जोहो भयो । उनी खुशी हुदै फर्किन् ।

ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।

राहत लिन चार घण्टा हिँडेर शक्तिखोर झरेका थिए इच्छाकामना गाउँपालिका १ डिङलाङका चन्द्रबहादुर चेपाङ । ‘खानेकुरा नभएको बेला दुःखै गरेर भए पनि आको हो’, उनले भने, ‘अब केही दिन मीठो खान पाउने भयौं ।’

‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र राक्सिराङ गाउँपालिकाको मैसिराङका ६० परिवारलाई राहत वितरण गरिएको हो ।

चेपाङ समुदायले दुःख पाइरहेको समाचार आएपछि खाद्यान्न सहयोग गरेको उक्त संस्थाका प्रोजेक्ट म्यानेजर पेम्बा छिरी शेर्पाले बताए । ‘सुमो माया गर्छु’ संस्थाले कोरोना भाइरसका कारण प्रभावितलाई सहयोग गरेको छ । भूकम्पमा ज्यान गुमाएकी नेपाली चेलीको सम्झनामा स्विस नागरिक क्यारिन क्सले संस्था स्थापना गरेकी हुन् । लाङटाङ हिमाल आरोहणका क्रममा सहयोगी सुमो लामाको मृत्यु भएको थियो । पछि पर्वतारोही क्यारिन लामाकै नाममा संस्था स्थापना गरेर सामाजिक गतिविधिमा सक्रिय हुँदै आएकी छन् ।

‘लकडाउनमा रोजिरोटी नहुँदा गिठ्ठा र भ्याकुर खाएको कुरा थाहा पाएपछि सहयोग चाहिएको रहेछ भन्ने थाहा पाएपछि हामी आएका हौ’, शेर्पाले भने, ‘महामारीले सबैलाई पीडा भएको छ । नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेका हौ ।’

एपीवान टेलिभिजनका फुर्वा शेर्पाले राहत वितरणमा समन्वय गरेका हुन् । उनले सामाजिक संस्थाको सक्रियताले विपतमा परेकाहरुले राहत पाएको बताए । समाचारकै प्रभावले खाद्यान्नको चरम अभाव भोगेका चेपाङ बस्तीमा करिब ३५ लाखभन्दा बढीको राहत सहयोग जुटेको छ ।

यसअघि नेपाल हेल्पले राप्ती नगरपालिका–१३ का ३ सय १८ घरधुरीलाई राहत वितरण गरेको थियो । संस्थाका कार्यकारी निर्देशक कृष्ण ढकालले अनिकालबाट प्रभावित परिवारका लागि सहयोग गरेको बताए । ‘चेपाङ बस्तीमा दयनीय अवस्थाको समाचार आएपछि हामी अघि सरेका हौं । अहिलेसम्म पाँच सय घरधुरीलाई राहत बाँढेका छौं । अझै केही गाँउमा पुग्ने योजना बनाएका छौ’, उनले भने । उक्त संस्थाले कालिका र राप्ती नगरपालिकाका पाँच सय १८ घरपरिवारलाई राहत बितरण गरेको जनाइएको छ ।

चेपाङ अभियन्ता केपीकिरण शर्माले समाचारकै कारण चेपाङ बस्तीमा राहत जुटेको बताए । ‘समाचारले खान नपाएर भोको भएका गरिबले खान पाएका छन्’, उनले भने, ‘चेपाङको घरमा चुलो बलेको छ । उनीहरु एकैछिन् भएपनि रमाउन पाएका छन् ।’

साै : अन्नपूर्ण पाेष्ट

प्रतिक्रिया