शनिबार, फागुन १९, २०८०

मनसुनी वायुको प्रभाव : उपत्यकामा भारी वर्षा, अनामनगर, घट्टेकुलोलगायत होचा स्थान जलमग्न

नेपालखोज २०७८ असार २६ गते २०:१५

काठमाडौं । मनसुनी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा आज भारी वर्षा भएको छ । निरन्तरको वर्षाले काठमाडौंंको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएका छन् । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ भने मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंमा ६९.४ मिलीमिटर वर्षा भएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया