शुक्रबार, वैशाख ७, २०८१

कोरिया जान अब निश्चित सर्त पूरा गर्नुपर्ने

कोरियाली भाषा परीक्षा (ईपीएस) को टुंगो नलाग्दा तयारीमा जुटेका हजारौं युवा अलमलमा

मीना साउँद २०७८ असार २७ गते १८:००

युवाहरूको आकर्षक रोजगारीको गन्तव्य कोरिया

काठमाडौं । वरिपरि भर्खरै रोपेर छाडेका खेतमा ! बीचमा एउटा घर ! जहाँ अचेल सधैंजसो कोही टोलाएर बसेको दृश्य टाढैबाट छर्लंग देखिन्छ । त्यहाँ टोलाएर बस्ने नरेश भण्डारी हुन् ।

घरका सबै परिवार सबेरै घरको काम सकेर खेतको काममा निस्किन्छन् । घरमा एक्लै हुन्छन् त नरेश । वरिपरि खेत मात्रै छन् । अन्य घरहरू छन् तर अलि टाढा-टाढा । नरेशलाई घर छाडेर गाउँका साथीसंगीसँग घुलमिल हुन पनि त्यत्ति मन लाग्दैन अचेल । रातभर निद्रा लाग्दैन । बिहानीपख निदाउँछन् । ब्युझिँदा बिहान अबेर भइसकेको हुन्छ । घरका अन्य सदस्य खेतको काममा निस्किसकेका हुन्छन् । फेरि उठेर घरमा भएको खानेकुरा खाएर त्यही एउटा काठको कुर्सीमै गएर बस्छन नरेश । उनको दैनिकी अचेल यसरी चलेको छ ।

नरेश परिवारका सबैभन्दा जेठा छोरा हुन् । उनका बुबा, आमा, एक बहिनी र एउटा सानो भाइ छन् । बुबा कृषक हुन् । त्यही खेतीपाती गरेर तीन छोराछारीलाई हुर्काए अनि पढाए । कैलालीको लम्की घर भएका भण्डारी स्नातक तह पढ्दा पढ्दै २०७५ सालमा कोरियाली भाषा (ईपीएस) पढ्न काठमाडौं आएका थिए । घरका जेठा छोरा । भाइ-बहिनीलाई पनि अगाडि पढाउनुपर्ने र घरको जिम्मेवारी पनि उनकै काँधमा छ । आकर्षक तलब अनि रोजगारी पनि सुरक्षित हुन्छ भन्ने साथीहरूको कुरा सुनेर नरेश सुनौलो सपना बोकेर कोरियाली भाषा पढ्न काठमाडौं हिँडेका थिए । तर उनको सपना-सपनामै सीमित हुन पुग्यो । आएको पहिलो वर्ष त्यति तयारी गरेका थिएनन् तैपनि अनुभवका लागि परीक्षा दिए । नम्बर त्यति नराम्रो पनि आएन । पास हुनका लागि ३ नम्बर मात्रै पुगेन । अब अर्को वर्ष पास हुने योजनासहित उनी निकै मिहिनेत गरी पढ्न थाले ।

परीक्षाको मिति नजिकिँदै थियो । तयारी पनि राम्रै गरेका थिए नरेशले । तर २०७६ साल चैतदेखि एकाएक कोभिड संक्रमण फैलियो । चैत ११ देखि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्‍यो । सम्पूर्ण क्षेत्र ठप्प भए । कोरियाली भाषा (ईपीएस) परीक्षा पनि रोकियो । जो अझैसम्म हुन सकेको छैन ।

त्यस्तै, कैलाली स्थायी घर भई काठमाडौंमा ईपीएसको तयारीका लागि बसेका अमित साउँदको अवस्था पनि उस्तै छ । उनी पनि कोरिया जानकै लागि विगत तीन वर्षदेखि काठमाडौं बसिरहेका छन् । कोरोनाका कारण परीक्षा सञ्चालन नभएपछि उनी पनि अलमलमा छन् । यी दुई प्रतिनिधिपात्र हुन् । उनीहरूजस्तै रोजगारीका लागि कोरिया जाने सपना बुनेका हजारौं युवा यतिबेला अलमलमा छन् ।

युवाहरूको आकर्षक रोजगारीको गन्तव्य कोरिया
विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले निम्त्याएको जोखिम र त्यसको असरबाट कुनै पनि क्षेत्र अछुतो रहन सकेन । हरेक क्षेत्रमा यसको प्रभाव उस्तै छ । यद्यपि हाल संक्रमणका बाबजुत सबै क्षेत्र वामे सर्दै छन् । नागरिकको जीवनशैली सामान्यतर्फ धकेलिँदै छ । तर संक्रमणका कारण लामो समयसम्म ठप्प परेका धेरै क्षेत्र चलायमान बनाउन अझै हम्मेहम्मे परेको अवस्था छ ।

यस्तै एउटा क्षेत्र हो वैदेशिक रोजगार । रोजगारीको सिलसिलामा वार्षिक लाखौं युवा विदेशिने गरेका छन् । मुख्यगरी नेपाली युवाहरू दुबई, मलेसिया, कतार, साउदी तथा युरोपियनलगायत विभिन्न देशमा जाने गरेका छन् । तर पछिल्लो समय युवाहरूको आकर्षक रोजगारीको गन्तव्यका रुपमा दक्षिण कोरियालाई लिइन्छ । आकर्षक तलब, कम खर्च र जान पनि सहज हुने भएकाले पछिल्लो समय युवाहरू रोजगारीका लागि दक्षिण कोरियातर्फ केन्द्रित भइरहेका छन् । तर कोभिड संक्रमणका कारण दुई वर्षदेखि कोरियाली भाषा परीक्षा (ईपीएस) सञ्चालन हुने टुंगो नलाग्दा परीक्षाको तयारीमा जुटेका धेरै युवा अलमलमा परेका छन् ।

यस वर्ष परीक्षा गर्ने भन्दै कोरियाले प्रस्ताव गरेको र आफूहरूले पनि परीक्षाका लागि छलफल गर्दै गर्दा नेपालमा फेरि दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि अहिले अन्योल बढेको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतम बताउँछन् । तर कोरोना संक्रमण घट्दै गयो भने परीक्षा हुन सक्ने सम्भावना भने रहेको उनले बताए । उनले भने, ‘कोरोना संक्रमण बढेपछि अन्योल बढेको हो । अब अलिकति नर्मल भयो भने यही वर्ष भ्याउँछ कि भ्याउँदैन त्यो त थाहा छैन तर, अवस्था सामान्य भयो भने परीक्षा हुने सम्भावना छ ।’ तत्काल यो समयमा परीक्षा गर्ने भनेर तोकिएको नभए पनि प्रक्रियामा रहेको उनले बताएका छन् ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत प्रत्येक वर्ष कामदार लैजाँदै आएको थियो । तर कोभिड-१९ का कारण सन् २०२० मा समेत भाषा परीक्षा सञ्चालन नगरेको कोरियाले यस वर्ष पनि परीक्षा गर्ने वा नगर्ने भन्ने विषय नै टुंगो लगाउन नसक्दा परीक्षाको तयारीमा बसेका र भाषा परीक्षा पास गरी बसेका युवा अलमलमा परेका हुन् ।

भाषा परीक्षा पास गरेका करिब १२ हजार युवा कोरिया जाने प्रतीक्षा
नेपालमा कोरियाली भाषा परीक्षा (ईपीएस) पास गरेर बसेका करिब १२ हजार युवा कोरिया जाने प्रतीक्षामा छन् । तीमध्ये करिब आठ हजारजनाको लेबर कन्ट्रयाक्ट आइसकेको छ भने ३/४ हजार जना रोस्टरमा रहेका ईपीएस कोरिया शाखाका निर्देशक गौतमले जानकारी दिए ।

रोस्टर अवधि दुई वर्षको हुन्छ । दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट नगरेको खण्डमा उनीहरू कोरिया जान पाउँदैनन् । उनीहरूको वर्षमा करिब चारपटक चयन प्रक्रिया हुने गरेको छ । चयन गर्ने प्रक्रिया निरन्तर भइरहेको निर्देशक गौतमले बताए । लेबर कन्ट्रयाक्ट आइसकेका आठ हजार जनामध्ये तीन हजारजना पहिला गएर आएकाहरू छन् भने बाँकी पाँच हजारजना नियमितवाला छन् ।

अबदेखि सीबीटी प्रणालीमार्फत परीक्षा लिइने
यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पीबीटी) प्रणालीमार्फत परीक्षा लिँदै आएको कोरियाले यस पटकदेखि भने ‘कम्प्युटर बेस्ड टेस्ट’ (सीबीटी) परीक्षा लिने तयारी गरेको छ । सीबीटी परीक्षा प्रणालीमा ट्याब्लेटबाट अनलाइन परीक्षाले लिइन्छ । यसको तयारी लगभग पूरा भइसकेको निर्देशक गौतमले बताए ।

भाषा परीक्षा पास गरेका करिब १२ हजार युवा कोरिया जाने प्रतीक्षामा

कोरियाली पक्षले सीबीटी परीक्षाका लागि सफ्टवेर निर्माण गरिसकेको छ । रीक्षा भवन पनि निर्माण भइसकेको छ । नेपालमा कोरोना संक्रमणदर कम हुँदै गयो भने परीक्षा सञ्चालन गर्न कोरियाली पक्ष सकारात्मक रहेको उनले बताएका छन् ।

करिब ६७ हजार नेपाली युवा कोरियामा कार्यरत
दक्षिण कोरियाले सन् सन् २००८ देखि विभिन्न मुलुकबाट आप्रवासी कामदार लिन सुरु गरेको हो । सन् २००८ देखि हालसम्म भाषा परीक्षा उत्तीर्ण गरी ६२ हजार ८५२ पुरुष र चार हजार २० महिला गरी कुल ६६ हजार ८७२ नेपाली युवा कोरिया गइसकेका छन् । कोरोना महामारीका बीच सन् २०२० मा एक हजार २७ जना कोरिया पुगेका छन् ।

भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा लकडाउन सुरु भएको थियो । कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ । नेपालबाट वार्षिक औसत आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेका छन् ।

कोरिया जान अब निश्चित सर्त पूरा गर्नुपर्ने
कोरियाले आफ्नो देश कामदार लैजान केही सर्तहरू अघि सारेको छ । अब कामदार पठाउँदा डाइरेक्ट फ्लाइटमार्फत पठाउनुपर्नेछ भने कोभिड इन्स्योरेन्स अनिवार्य गराउनु पर्नेछ ।

त्यस्तै, कोरिया पुगेर अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्नेछ । क्वारेन्टिन बस्ने खर्च कामदार आफैंले तिर्नुपर्ने भन्ने मौखिक कुरा आएको तर लिखित रुपमा नआएको ईपीएस कोरिया शाखाका निर्देशक गौतमले जानकारी दिए । आफूहरूले कोरियाले भनेअनुसार प्रक्रियाहरू पनि अघि बढाइसकेको उनले बताएका छन् ।

हालै इन्स्योरेन्सका लागि इन्स्योरेन्स कम्पनीहरूलाई सूचीकृत गर्न गोरखापत्रमा सूचना पनि निकालेर आफूहरूले सबै आन्तररिक तयारीहरू गरिराखेको निर्देशक गौतमले बताए ।

प्रतिक्रिया