शनिबार, फागुन १९, २०८०

चितवनमा बिरामी बढेसँगै रगतको अभाव

रासस २०७८ असार ३१ गते १२:२९

चितवन । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।

जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ ।

सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपानेद्वारा जारी अपिलमा बिरामीको चाप बढेसँगै अस्पतालमा रगतको अभाव देखिएकाले रक्तदान गर्न सबैलाई अपिल गरिएको हो ।

जिल्लाका अस्पतालमा रहेका रक्त सङ्कलन केन्द्र, युनिट एवं क्षेत्रीय रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न सबैलाई अपिल गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्याउन नसकिएको बताए ।

केन्द्रमा दैनिक १०० युनिट रगतको माग भइरहेको भए पनि अहिले रगत उपलब्ध गराउन नसकिने अवस्थामा पुगिएको उनले बताए ।

जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा अस्पतालमा आएका बिरामीलाई रगत पु¥याउन नसकिएको उहाँले जानकारी दिए । कोरोनाका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उनको भनाइ छ ।

यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो ।

अहिले स्वयंसेवी रक्तदाता र बिरामीको आफन्तबाट रगतको माग धान्नुपरेको पौडेलले बताए । कोरोनाको समयमा दैनिक ५० युनिट मात्र रगतको माग भए पनि निषेधाज्ञा खुकुलो भएसँगै रगतको माग बढेको हो ।

यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै भारतीय सीमा क्षेत्रबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउँछन् ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया