शनिबार, वैशाख १५, २०८१

एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै

नेपालखोज २०७८ साउन २ गते ७:१७
साँकेतिक तस्बिर

काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।

यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए। विगतमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्दा केहीले मात्र ८०–९० प्रतिशत अंक ल्याउँथे भने हाल यो संख्या प्रशस्त रहेको उनको भनाइ छ। आजको नागरिक दैनिकमा समाचार छ ।

‘काठमाडौंमा राम्रा स्कुलहरू पनि प्रशस्तै छन्,’ एकाइ प्रमुख पौडेलले नागरिकसँग भने, ‘प्राक्टिकलमा स्कुलहरूले २५ नम्बर पुरै दिएका छन् । सैद्धान्तिकमा पनि राम्रै अंक दिएका छन्।’ उनले थपे, ‘३७ हजार ३ सय विद्यार्थीमध्ये प्रशस्तैले यसपटक ९० प्रतिशत अंक ल्याएको देखियो।

नतिजा प्रकाशित नभएको र गोपनीयताका कारण ठ्याक्कै संख्या अहिले सार्वजनिक गर्न मिल्दैन।’उनले सरकारी तथा निजी दुवैखाले विद्यालयले राम्रो देखाउन पनि विद्यार्थीलाई राम्रै अंक दिएको बुझिएको जनाए। काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको तथ्यांक इन्ट्री गर्ने काम अन्तिम चरणमा पु¥याएको र यो साता राष्ट्रिय परीक्षा बोर्डमा विद्यार्थीको अंक तालिका बुझाइने पौडेलले बताए।

प्रतिक्रिया