काठमाडौं बाहेक अन्य जिल्लाहरुमा खोप लगाउने कार्यक्रम जारी

काठमाडौं । मौज्दातमा रहेको खोप सकिएकिए पछि काठमाडौंमा खोप अभियान स्थगित भएको छ । तर अन्य जिल्लाहरुमा भने प्रशासन र पालिकाको समन्वयमा केन्द्र र दिन निर्धारण गरेर खोप लगाउने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आगामी साउन ७ गतेपछि फेरि चीनबाट खोप आउन थाल्ने भएकाले खोप अभाव नहुने खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । खोप आउने बित्तिकै यसअघि छुट्याइएको प्राथमिकताअनुसार उमेर र समूहको आधारमा खोप लगाइने गौतमले बताए । यसअघि अर्को लटको खोप लिन वायु सेवा निगमको जहाज बुधबार चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।
निगमले आउँदो ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जनाएको छ । निगमकाअनुसार चीनसँग खरिद गरिएका खोप लिन ६ गते गएर ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ ।
यस्तै साउन ७ गते फेरि जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । यसैगरी सरकारले खरिद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि खोप ल्याइरहेको छ ।
प्रतिक्रिया