बिहीबार, जेठ २, २०८२

एमाले एक होला त १० बुँदे सहमितकै आधारमा ?

नेपालखोज २०७८ साउन २ गते १३:४८

काठमाडौं । नेकपा (एमाले) का युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् ।

सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको हो ।

संसदीय दलका उपनेता सुवास नेम्बाङले नयाँ सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाएर पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको जानकारी दिए । कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्न गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो ।

पार्टी सचिव गोकर्ण विष्टले नयाँ सहमतिका आधारमा पार्टी एकता बचाउन छलफल गरिएको बताए । ‘एमालेलाई एकताबद्ध गर्न आमपार्टीपंक्ति चिन्तित छ,’ उनले भने, ‘पार्टीप्रति कार्यकर्तामा देखापरेको अन्योल र चिन्तालाई दूर गर्न पार्टीलाई फेरि पनि एकताबद्ध बनाउन सन्देशका लागि भेटघाट गरेको हौँ ।’

छलफलमा पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीप ज्ञवाली, भीम आचार्य र पृथ्वी सुब्बा गुरुङलगायतको सहभागिता थियो ।

प्रतिक्रिया