शुक्रबार, फागुन ११, २०८०

कांग्रेस छानबिन समितिका सदस्यमाथि आक्रमण गर्नेलाई ३ दिनभित्र कारबाही गर्न निर्देशन

नेपालखोज २०७८ साउन २ गते १९:०८

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कारबाही गर्ने भएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आशन्न १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानवीनका लागि गठित छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

शनिवार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणको सो घटनामा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बस्नेत नेतृत्वको टोलीले शुुक्रबार बिहान पार्टीका केन्द्रिय सदस्य एवम क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासन विपरित रहेको निष्कर्ष निकाल्दै काँग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।

प्रवक्ता शर्माले भने,“आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्र बमोजिम नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवं सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टिकरण सोधेर ३ दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनु भएको छ ।”

बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताए । बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । नेपाली काँग्रेसको आगामी भाद्र १६–१९ गते हुने १४ औं महाधिवेशन हुँदैछ ।

प्रतिक्रिया