सोमबार, फागुन १४, २०८०

विराटनगरको सिंघीया खोला किनारमा तटबन्धको निर्माण कार्य सुरु, सुकुम्बासी परिवार हर्षित

नेपालखोज २०७८ साउन ४ गते १७:०२

विराटनगर । खाडल खनेर लथालिङ छाडिएको विराटनगरस्थित सिंघीया खोला किनारमा तटबन्धको निर्माण कार्य सुरु भएको छ । खाडल खनेर यत्तिकै छाडिंदा खोलाको बाढीले घर भास्सिने हो कि भन्ने चिन्तामा परेका सुकुम्बासी परिवार तटबन्ध निर्माण सुरु भएसंगै हर्षित भएका छन् ।

सिंघीया खोला किनारामा तटबन्ध निर्माणको कामले निरन्तरता पाएसँगै विराटनगर महानगरपालिका–२ स्थित तीनपैनी पूर्व टोलबासी हर्षित भएका छन् । असारको पहिलो साता खाडल खनेर स्थानीय उपभोक्ता समितिले सुरु गरेको सो निर्माण कार्य बाढी र डुबानका कारण स्थगित गर्नु परेको थियो ।

खोलाको सतह बढेसँगै पानीले माटो कटान गर्दै लगेपछि स्थानीयबासी घरै भत्काएरै लैजाने डरले त्रसित भएका थिए । केही दिन अघिदेखि सो खोलाको तटबन्ध निर्माणको काम पुनः सुरु भएपछि स्थानीय बासिन्दाले राहतको महसुस गरेका छन् ।

यतिखेर आवश्यक उपकरणसहित १० जना मजदुरको समुह निरन्तर तटबन्धको निर्माण कार्यमा खटिएका छन् । उनीहरु निर्माणस्थल नजिकै रहेको तीनपैनी स्पोर्टिङ क्बलको एककोठे भवनमा क्याम्प राखेर निर्माण कार्यलाई निरन्तरता दिईरहेका छन् । कुनै बाधा अवरोध बिना निरन्तर काममा खटिनपाए आउँदो दुईतिन दिनभित्रै सम्झौता अनुसारको तटबन्ध निर्माण गरिसक्ने मजदुरहरुले बताएका छन् ।

संघीय सरकारको ‘तराई–मधेश समृद्धि कार्यक्रम’ अन्र्तगत उक्त क्षेत्रमा झण्डै १० लाख रकमको बजेटबाट ३७ मिटर लम्बाईको तटबन्ध निर्माण गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ । यसअघि आफूहरुले निर्माण कार्य सुुरु गराएको भएपनि असारको दोस्रो साता खोलाको सतह बढेका कारण ल्याइएका मजदुरहरुले काम गर्न नमानेपछि केहिदिन निर्माण कार्य प्रभावित भएको उपभोक्ता समितिको भनाई छ । यद्यपि फेरी काम शुरु भएको र आउँदो केहिदिनमै निर्माण सम्पन्न हुने समितिका अध्यक्ष शिला दिक्षीत कार्कीले बताए ।

खोलाको पानीको सतह बढ्ने तथा बाढी आउन सक्ने साउन र भदौ महिना बाँकी रहेका कारण यसअघि निर्माण रोकिएपछि सुकुम्बासी परिवारमा चिन्ता छाएको थियो । यद्यपि हाल निर्माण सुचारु भएको तथा केहि दिनभित्रै तटबन्धको निर्माण सम्पन्न हुने कुरामा उनीहरु आशावादी छन् ।

प्रतिक्रिया