बुधबार, वैशाख १२, २०८१

‘स्यानी मायालाई चार दिनमै आठ लाख भ्यूज’

नेपालखोज २०७८ साउन ७ गते १२:५४

काठमाडाैं । मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

वसन्त थापा युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ ।

गीतलाई ३६ हजारले लाइक र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएका छन् ।

केटा पक्षको शब्द भने गायक थापाले लेखेका हुन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ ।

सङ्गीत संयोजन सङ्गीतकार आशिष अविरलले गर्नुभएको छ । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो । मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै स्रोता/दर्शकले रुचाएका हुन् ।

गायक थापाले गीतबाट राम्रो प्रतिक्रिया पाएको बताए । सर्जक/गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आएका थिए ।

गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो । तीज पर्वको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई स्रोता/दर्शकमाझ ल्याइएको गायक थापाले बताए ।

गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शीवचनलाई गीतमा लयबद्ध गरिएको छ । अश्लिलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र सङ्गीतलाई मुखरित गरेको छ ।

प्रतिक्रिया