शुक्रबार, वैशाख ७, २०८१

रासायनिक मल नपाउँदा किसान चिन्तित

नेपालखोज २०७८ साउन ७ गते १४:४१

महेन्द्रनगर । धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए ।

उनले यहाँका नौ वटै पालिकामा मल आपूर्ति समिति रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिए । शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ ।

यहाँ मलखाद भारतबाट अवैध रुपमा आयात गरेर महँगोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ । यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटकपटक कृषि सामग्रीमा धाउदा पनि नपाएको पीडा सुनाए ।

कृषि सामग्रीले मलखाद अनुदानमा बिक्रीवितरण गरिरहेको भए पनि यहाँ लामो समयदेखि मलखादको अभाव हुँदै आएको छ । यस वर्ष धानखेतीको समयमा कृषिबाट एक हजार ३५ मेट्रिक टन युरिया, एक हजार १८६ मेट्रिक टन डिएपी र ४३।६ मेट्रिक टन पोटास बिक्री भएको कार्यालय प्रमुख शाहले बताए ।

बेदकोटस्थित इन्दे्र्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले पहिलो चरणमा सहकारीमा ४३ बोरा युरिया आए पनि सकिएको बताए । रासस

प्रतिक्रिया