मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन रामनारायण बिडारीकाे आग्रह

काठमाडाैं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताए ।
उनले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने बताए ।
उनले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गरे । उनले विगतको सरकारले नेपाली नागरिकलाई रैति बनाएको पनि बताए ।
नेपाली नागरिकलाई नागरिकता, लालपूर्जा र सिफारिसमा अड्काएको उनले बताए । नागरिकलाई विभिन्न सुविधा दिने भनेर झुक्याएको पनि उनले उल्लेख गरे ।
आजसम्मका सरकारले भूमिहिनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि बिडारीले बताए । भूमि सम्बन्धि समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।
प्रतिनिधि सभा पुनस्र्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उनले जिकिर गरे । प्रतिपक्षी दल नेकपा एमालेले बाँदरे जुलुस निकालेको टिप्पणी गर्दै उनले जुलुस गरेर कोरोनाको रोपाइँ गरिएको बताए ।
प्रतिक्रिया