शुक्रबार, वैशाख १४, २०८१

चोभारको चन्द्र पुल

सुनील उलक २०७८ साउन ९ गते ९:१६
May be an image of bridge

स्कटल्यान्डको एबरडिन फलाम तथा फलामबाट बन्ने सामग्रीहरुको लागि निकै प्रख्यात सहर हो । राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले नेपालमा झोलुंगे पुलहरु बनाउन सुरुवात गर्दा स्कटल्यान्डको एबरडिनसँगै सम्बन्ध गाँसेका थिए ।

सन् १९०० को दशकबाटै नेपालमा झोलुंगे पुलहरु बनाउन सुरु भएको देखिन्छ । श्री ३ चन्द्रशमशेर पुलको नाममा सुरुमा एबरडिनको लुइस हार्पर कम्पनीबाट झोलुंगे पुलहरु बनाउन थालेको देखिन्छ । लुइस हार्परले नेपाली इन्जिनियर कुमारनसिंह राणाको नेतृत्वमा सन् १९०३ देखि नेपालमा पुलहरु बनाएका थिए । यो कम्पनीले बनाएका पुलहरुमा चोभारमा वाग्मती नदीमाथि रहेको झोलुंगे पुल, रामेछापको साँघुटारमा रहेको लिखु खोलामाथि रहेको झोलुंगे रहेको पुल, मंगलटारमा रोशी खोलामा रहेको झोलुंगे पुल, धादिङको भर्याङभुरुङमा रहेको थोपल खोलाको झोलुंगे पुल, बुटवल पाल्पा बिचमा पर्ने चर्चरेमा तिनाउ खोलामा रहेको झोलुंगे पुल, बिदुरमा त्रिशुली नदीमाथि बनेको झोलुंगे पुल तथा खोकनामा वाग्मती नदीमाथि रहेको झोलुंगे पुलहरु हुन् ।

सन १९०३ अर्थात् वि.सं १९६० मा बनेको चोभारको झोलुंगे पुल १३० फुट लामो तथा ४ फुट चौडाइको छ । यस पुलको मुख्य डिजाइन लुइस हार्पर कम्पनीका मालिक एवं इन्जिनियर स्वयं लुइस हार्परले नै गरेका थिए । यो पुल सवा इन्च मोटो फलामे तारमा लट्किएको तथा १ इन्च मोटो तारमा बाँधिएको छ । पुल बनाउने समय भुइँमा हिँड्नका लागि काठका फल्याकहरु ओछ्याइए पनि पछि कुहिन थालेपछि हल्का फलामका पाताहरु राखिएको थियो । साथै पुलको तल्लो भाग परिवर्तन गरिएको थियो ।

चन्द्र पुलको नाममा रहेको यो पुल सँगै गाडी गुड्न पुल बनाइएको हुँदा उपयोगविहीन भएको छ । तर पनि यो पुलको अवस्था भने राम्रै देखिन्छ । यस पुलको दायाँ बायाँ पुलको बारेमा लेखिएको छ । एकातर्फ श्री ३ चन्द्र पुल CHUNDRA BRIDGE, erected by Brigadier Col Kumar Nursingh Rana Bahadur C.E., A.M.I.C.E.M.S.A. Superintending Engineer Government of Nepal Khatmandu. लेखिएको छ भने अर्को तर्फ Louis Harper A.M.I.C.E. Maker Aberdeen Scotland. लेखिएको छ ।

स्कटल्यान्डको एबरडिनमा रहेको लुइस हार्पर कम्पनीले सन १८७० देखी १९१० को बिचमा बेलायत तथा बेलायती साम्राज्य रहेको देशहरुमा जम्मा ६० वटा झोलुंगे पुल बनाएका थिए । जसमध्ये बेलायती साम्राज्य नरहे पनि श्री ३ चन्द्रशमशेरले नेपालमा ७ वटा झोलुंगे पुल बनाउन लगाएका थिए । सन् १९१० मा हार्पर कम्पनीले झोलुंगे पुल बनाउन छोडेको थियो । श्री ३ चन्द्रशमशेरले १९०७ पछि भने झोलुंगे पुलहरु बनाउने जिम्मा एबरडिनकै जोन एम हेन्डरसन कम्पनीलाई दिइएको देखिन्छ ।

लुइस हार्परले बनाएका सबै पुलहरुको डिजाइन एकै प्रकारको थियो । झन्डै ९० फुट अग्लो जालीदार चारवटा टावरको पुलको वारि र पारि बनाइएको हुन्थ्यो । वारि र पारिका दुइ टावरलाई एक-आपसमा जोडिएको हुन्थ्यो भने खोला वारि र पारिका टावरहरुलाई सवा एक इन्च मोटो विशेष प्रकारको ग्याल्वनाइज्ड गरिएको तारले अल्झाइएको हुन्थ्यो । यही लामो लत्रिएको तारमा एक इन्च मोटो तारहरु हरेक पाँच फुटको दूरीमा लट्काइएको हुन्थ्यो । यही मोटो तारमै मानिस हिँड्नका लागि डेक बनाइएको हुन्थ्यो । यस पुलको भार क्षमता प्रतिवर्ग फुट १६० पाउन्ड (७२.५ किलो) को थियो । प्रत्येक टावरमा गुम्बज आकारले चुच्चो बनाइएको हुन्थ्यो । हार्पर कम्पनीले पुल बनाउँदा प्रति फुट २ बेलायती पाउन्ड (£2 per linear foot) मूल्य तोकेको थियो । यसमा ढुवानीको खर्च स्थान हेरेर प्रतिकेजीका दरले रहने भनिएको थियो । ती पुलहरुका लागि नेपाल सरकारले कति मूल्य बुझाएको थियो भन्ने उल्लेख गरिएको भने भेटिएन ।

तस्बिरमा काठमाडौं उपत्यकाको दक्षिणमा पर्ने चोभारको पुलको पुरानो तस्बिर हो । इतिहासमा उल्लेख भएअनुसार कुनै बेला काठमाडौं उपत्यका ठूलो पोखरीका रुपमा रहँदा यही चोभारको कमजोर भागबाट गल्छी बनाएर पानी बगेको थियो । पछिल्लो रिसर्चका अनुसार करिब ३० हजार वर्षअगाडि चोभारको नरम चुनढुंगाको पहाड गल्दै गएपछि पानीले निकास पाएको भन्ने देखिन्छ ।

प्रतिक्रिया