बिहीबार, वैशाख १३, २०८१

मंगल चौथी !

नेपालखोज २०७८ साउन १२ गते ५:०३

हिन्दु धर्म र संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा विध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नुभन्दा पहिले सबैले भगवान् श्री गणेशको आराधना र व्रत बस्ने गरिन्छ । भगवान् गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ ।
मंगलबारलाई भगवान् गणेशको दिनका रुपमा मान्ने चलन पनि चल्दै आएको छ । यिनै भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा-आराधना गरेर मनाइने प्रचलन छ । मंगलबार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत सुरु गर्दा राम्रो हुन्छ भन्ने मान्यता छ । मानिसले यसको भरपूर सदुपयोग गरेका पनि हुन्छन् ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पूर्वक श्री गणेशको व्रत बस्नाले व्रतालुलाई चिताएको फल प्रदान हुने धार्मिक मान्यता छ । यदि कुनै नयाँ कार्यको थालनी गर्नु छ भने पनि श्री गणेश पूजा प्रारम्भ गर्नुपर्नेछ । आजको दिन अति शुभ मानिन्छ ।

विघ्नहर्ता गणेश भगवान्‌लाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने गणेश पुराणमै वर्णन गरिएको छ । मंगलबारको दिन चौथी तिथl पर्‍यो भने गणेशजीलाई प्रशन्न पार्न मंगल चौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आराधना, व्रत प्रारम्भसहित उद्यापन यस दिन गर्ने गरिन्छ । जसले यसदिन ऋद्धि-सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुख-कष्ट र विघ्नबाधा सबै प्रकारका दु:ख हराउने हुनाले यसदिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नुपर्छ जसमध्ये धान, चामल, जौं, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृंगार, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ती, कपुर, रातोफूल, माला, लड्डु, दूबो आदि सरजाम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दीप प्रज्वलन गरी दियोको आह्‌वान गरेर त्यसपछि दाहिने हातमा जौं, तिल, पानी, फूल, कुश या दूबो र द्रव्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नामसहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनुपर्छ ।

गणेश भगवान्‌लाई रातो फूल अक्षतासहितले आह्‍वान गर्ने र कुशको आसन राखिदिने, ओम् गं गणपतये नमः भन्दै जल, अर्घ, आचमनी, दूध, दही, घिउ, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनुपर्छ तत्पश्चात् शुद्ध जलले स्नान गराई गणेशजीलाई आफ्नो गच्छेअनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टीका, रोली, सिन्दूर, अक्षता, वस्त्रआदि चढाउनुपर्छ । तत्पश्चात् जौं, तिल, फूल, माला, दूबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ओम् गं गणपतये नम: भन्दै अंग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य-दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नुपर्छ ।

प्रतिक्रिया