शुक्रबार, चैत १६, २०८०

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

नेपालखोज २०७८ साउन १२ गते १२:१५

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताए । उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराउनुभएको बताइएको छ । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमी अमेरिकाको भ्रमणमा छिन् ।

प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेकाे प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । इराकमा हाल २ हजार ५०० जना भन्दा बढी अमेरिकी सैनिक रहेका छन् ।

इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ ।हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ ।

अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुनसक्ने अनुमान गरिएको बताइएको छ ।इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताए ।

उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भने, हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालिमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ ।

गत वर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएका थिए ।

त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो । यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आइएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया