शुक्रबार, चैत १६, २०८०

‘अघिल्लो सरकारले सुरू गरेका कार्यक्रममा प्रतिशोध नहोस्’

नेपालखोज २०७८ साउन १२ गते १४:५९

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड-१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले सुरू गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिए ।

उनले भने, ‘छिमेकीका घरमा आश्रय लिइरहेका बाढीपहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउनुस्, सुकुम्बासीलाई निराश बनाउने काम नहोस्, सरकारले प्रतिशोधको भावनाले अघिल्लो सरकारले सुरू गरेका विकास र समृद्धिका कार्यक्रमलाई प्रभावित नतुल्याइयोस् ।’

नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले लामो समयदेखि रिक्त रहेको उपसभामुखको चयन यथाशीघ्र गर्न र पुनस्र्थापित संसद् र सांसदलाई क्रियाशील बनाउन सुझाव दिए ।

नेकपा (माओवादी केन्द्र)का यशोदा सुवेदीले यस वर्षको बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको मनाङ जिल्लामा विपद्पछिको पुनर्निर्माण र राहतका कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाउन सुझाव दिए ।

जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले नागरिकतासम्बन्धी विधेयक सदनबाट समयमा पारित नहुँदा धेरै जनताले असहजस्थिति बेहोर्नु परेकाले राजनीतिक दलबीच सहमति कायम गरी यथाशीघ्र यस विषयलाई अघि बढाउन माग गरे ।

नेपाल मजदूर किसान पार्टी प्रेम सुवालले सरकारले समयमै आवश्यक चासो र चिन्ता नलिएका कारण पहिलो खोप लगाएका कैयाँै नागरिक दोस्रो खोप नपाएर शून्य हुने अवस्थामा पुगेको आरोप लगाए ।

प्रतिक्रिया