शुक्रबार, वैशाख १४, २०८१

फाइभ-जी परीक्षणको बाटो खुल्यो

नेपालखोज २०७८ साउन १३ गते ७:२७

काठमाडौं । पाँचौं पुस्ताको नवीनतम् प्रविधि मानिने फाइभ-जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ-जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ प्रविधिका लागि बाटो खुला गरिदिएको हो ।

यससँगै फाइभ-जीसहित मेसिन टु मेसिन (एमटुएम), इन्टरनेट अफ थिङ्स (आईओटी) लगायत नयाँ प्रविधिको परीक्षण गर्न चाहने सेवा प्रदायकहरूले अनुमतिका लागि प्राधिकरणमा निवेदन दिन सक्नेछन् ।

कार्यविधिले नयाँ प्रविधि परीक्षणका लागि कानुनी तयार गरिदिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । फाइभ-जीसहित नयाँ प्रविधिका लागि बजार तयार भइसकेको छ । उनले भने, ‘कुनै सेवा प्रदायकले त्यसको परीक्षण गर्न चाहेमा अब बाटो खुला भएको छ ।’

कार्यविधिले नयाँ प्रविधि परीक्षणका प्रक्रिया स्पष्ट गरिदिएको छ । त्यसका लागि सबैभन्दा पहिला परीक्षणका लागि निवेदन पेस गर्नुपर्नेछ । निवेदनमा नयाँ प्रविधिको जानकारी, परीक्षण गरिने स्थानहरू, उपलब्ध गराइने सेवाहरू, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सीको विवरण र नेटवर्क जडान र सञ्चालनको समय तालिका उल्लेख गरेको हुनुपर्नेछ । नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण एवं सहरी दुवै क्षेत्र समेट्नु पर्नेछ । निवेदनको अध्ययन गरेर प्राधिकरणले परीक्षणको स्वीकृति प्रदान गर्न सक्नेछ ।

प्रतिक्रिया