शुक्रबार, वैशाख ७, २०८१

अर्थमन्त्री र कोरियाली राजदूत पार्कबीच भेटवार्ता

नेपालखोज २०७८ साउन १३ गते १५:२३

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङग सुक ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे । ‘इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु ।’ मन्त्री शर्माले भने ।

जवाफमा राजदुत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिनुभयो । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदुत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ ।

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए ।
भेटको क्रममा राजदुत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली-१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखे । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।

विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए । यस विषयमा मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिए ।

प्रतिक्रिया