बुधबार, वैशाख १२, २०८१

१५ अंकले नेप्से बढ्दा १३ अर्ब २९ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन १३ गते १५:३८

काठमाडौं । नेप्से ३१ सय अंक नजिक पुगेको छ । अघिल्लो दिन २९ दशमलव २४ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि १५ दशमलव तीन अंकले बढेर तीन हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य दुई अंकले बढेर पाँच सय ७४ दशमलव ३२ अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीहरुको एक लाख २८ हजार सात सय ८० पटकको कारोबारमा दुई करोड ८१ लाख ७० हजार एक सय ७२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार पाँच सय ३५ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा आज चारवटा समूहको सूचक घटेर नौवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव ४५ अंकले घटेर दुई हजार एक सय नौ दशमलव ९० अंकमा पुगेकोमा जलविद्युत, उत्पादनमुलक र सामूहिक लगानी कोष समूहरुको सूचक पनि घटेका छन् ।

निर्जिवन बिमा समूहको सूचक भने चार सय ४९ दशमलव ५६ अंकले बढेर १५ हजार ६३ दशसलव ५८ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि चार सय ३१ दशमलव ३८ अंकले बढेर १८ हजार तीन सय ५१ दशमलव ५७ अंकमा पुगेको छ । यीबाहेक विकस बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी समूहरुको सूचक पनि बढेका छन् ।

आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय तीन रुपैयाँमा कारोबार हुँदा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव सात प्रतिशतले घटेर तीन सय ५६ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ८६ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा ३८ करोड ५३ लाख ६९ हजार सात सय ५० रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया