शुक्रबार, चैत १६, २०८०

धमाधम पलायन हुँदै चलचित्र प्राविधिक

मीना साउँद २०७८ साउन १४ गते ११:०३

तेस्रो लहरको कोरोना संक्रमण फैलिए चलचित्र क्षेत्र अन्धकार

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएपछि गत एक वर्षदेखि चलचित्र क्षेत्र ठप्प प्राय: छ । करिब १५ महिनादेखि संक्रमणका कारण थला परेको चलचित्र क्षेत्र सञ्चालन हुन नसक्दा यसमा कार्यरत चलचित्र प्राविधिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

अझ संक्रमणका कारण काम हुन नसक्दा ज्यालादारी गरेर खाने प्राविधिकहरू बढी प्रभावित छन् । पहिलो लहरको संक्रमण फैलिएर ठप्प भएको चलचित्र क्षेत्रका केही प्रतिशत प्राविधिले बीचमा आवस्था केही सामान्य भएपछि काम गर्ने अवसर पाएका थिए, तर संक्रमणको दोस्रो लहर फैलिएपछि चलचित्र प्राविधिकलाई दैनिक गुजारा गर्नसमेत हम्मेहम्मे पर्न थालेको छ ।

सामान्य म्युजिक भिडियोहरूको कामले १५/२० प्रतिशत प्राविधिकलाई केही सहज भए पनि अन्यको अवस्था भने अत्यन्तै जटिल रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन् । कोभिड संक्रमणका कारण डेढ वर्षदेखि सम्पूर्ण चलचित्र क्षेत्र ठप्प भएर बहुसंख्यामा रहेका प्राविधिकहरू समस्यामा पर्दासमेत सरकारले आफ्ना समस्या गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ । चलचित्र प्राविधिकहरूको समस्याबारे बारम्बार सरकारलाई ध्यानाकर्षण गराउँदासमेत सरकारले हरे पटक आश्वासन मात्रै दिने तर, कार्यान्वयन भने नगरेको अध्यक्ष लामाले बताए ।

यो अवस्थामा आफूहरूसँग चलचित्र क्षेत्र चलायमान बनाउन सक्ने कुनै विकल्प नरहेको र सरकारले पनि यसलाई गम्भीरतापूर्वक नलिइदिने हो भने यो क्षेत्रमा ठूलो संकट उत्पन्न हुने उनको भनाइ छ । ‘यदि सरकारले प्राथमिकतामा राखेको भए कम्तीमा यो क्षेत्रलाई लयमा ल्याउन सहज हुन्थ्यो । अहिले नेपाली चलचित्र उद्योग आफ्नै बलबुतामा र भगवान् भरोसामै अगाडि बढिरहेको छ,’ उनले भने, ‘अब त यसको विकल्प हामीसँग पनि छैन । साँच्चिकै सरकारले यसलाई गम्भीरतापूर्वक नलिने हो भने भविष्यमा ठूलो संकट आउँछ ।’ अध्यक्ष लामाका अनुसार पहिलो लहरको कोरोना संक्रमणको समयमा संकटमा परेका प्राविधिकहरूका लागि चलचित्र विकास बोर्डले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकम खान बस्नसमेत समस्यामा परेका करिब दुई सय प्राविधिकलाई ५/५ हजार रुपैयाँका दरले सहयोग गरिए पनि सरकारका तर्फबाट भने हालसम्म कुनै पनि सहयोग प्राप्त नभएको उनले बताए ।

चलचित्र प्राविधिक धमाधम पलायन हुँदै
कोभिड संक्रमणका कारण लामो समयसम्म चलचित्र क्षेत्र ठप्प भएपछि त्यसमा आबद्ध प्राविधिकहरू धमाधम पलायन हुन थालेका छन् । कोही वैकल्पिक बाटो रोज्न बाध्य भएका छन् । हाल देशभर चलचित्र प्राविधिक संघमा सक्रिय रुपमा करिब १५ सय र स्वतन्त्र प्राविधिक गरी कुल ३५ सयको हाराहारीमा चलचित्र प्राविधिक यस क्षेत्रमा आबद्ध छन् ।

त्यसमा करिब १५ देखि २० प्रतिशत प्राविधिकहरू पलायन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । अहिले यो समस्यालाई गम्भीरतापूर्वक लिएर चलचित्र क्षेत्र लयमा फर्काउनेतर्फ नलाग्ने हो भने भोलि चलचित्र क्षेत्र चलायमान भएपछि दक्ष प्राविधिक पाउन मुस्किल पर्ने संघका अध्यक्ष लामाले चिन्ता व्यक्त गरे । यो क्षेत्र सञ्चालनमा आएपछि दक्ष प्राविधिक नै भएन भने सिंगो चलचित्र क्षेत्र नै अप्ठ्यारोमा पर्ने उनले बताए ।

चलचित्र क्षेत्रको सुरुवातमा जसरी बाहिरी मुलुकबाट दक्ष प्राविधिक ल्याएर चलचित्र निर्माण गर्नुपर्ने स्थिति थियो अब फेरि त्यस्तो स्थिति दोहोरिन सक्ने लामा बताउँछन् । त्यो दिन आउन नदिन सरकारले अहिले नै चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर प्राविधिकहरूले धैर्य गर्न सक्ने प्याकेजसहितका योजना ल्याउन सके केही सहज हुने उनले बताए । यदि त्यसो गर्न नसके अवश्य पनि भोलि चलचित्र क्षेत्रमा दक्ष प्राविधिकको अभाव हुन गई ठूलो संकट निम्तिन सक्ने संघका अध्यक्ष लामाको आकलन छ ।

‘तेस्रो लहरको कोरोना संक्रमण फैलिए चलचित्र क्षेत्र अन्धकारमा परिणत हुन्छ’
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना संक्रमणको तेस्रो लहर फैलिएको खण्डमा चलचित्र क्षेत्र नै अन्धकारमा परिणत हुने बताएका छन् । संक्रमणका कारण अहिले नै चलचित्रकर्मीहरूलाई हम्मेहम्मे परिरहेको समयमा तेस्रो लहर आए यो क्षेत्र शतप्रतिशत नै प्रभावित भएर जाने उनको ठम्याइ छ । दोस्रो लहरको कोरोनापछि फेरि तेस्रो लहरको संक्रमण फैलिने आकलन भइरहँदा आफूहरूलाई राज्य भएको अनुभूति गराउन सरकारले प्राविधिकहरूको उपचारका लागि छुट्टै अस्पतालको बनाउनुपर्ने त्यो पनि गर्न नसके सम्पूर्ण प्राविधिकलाई निःशुल्क उपचारको व्यस्था गर्नुपर्ने र प्राविधिकहरूलाई यस क्षेत्रबाट पलायन हुन नदिनका लागि विभिन्न सहुलियत दरका प्याकेजहरू ल्याउनुपर्ने उनीहरूको माग छ ।

अझै पनि प्राविधिकहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने खालका कुनै पनि प्याकेज ल्याउन सकिएन भने शतप्रतिशत चलचित्र प्राविधिहरू सदाका लागि पलायन हुन सक्ने अवस्था आउने उनको भनाइ छ । आफूहरूको समस्याबारे सरकारलाई बारम्बार अवगत गराए पनि सरकारका तर्फबाट हालसम्म कुनै पनि सहुलियत नपाएको र अझै पनि सरकारले बेवास्ता गरे प्रधानमन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने योजना बनाएको अध्यक्ष लामाले बताए ।

अझै पनि सरकारले प्राविधिकहरूको समस्यालाई गम्भीरतापूर्वक लिएर उनीहरूको हितका लागि सहुलियत दरका प्याकेज ल्याए आफूहरूले त्यो कदम रोक्ने, त्यसो नभएको खण्डमा छिटै प्रधानमन्त्रीलाई मागसहितको ज्ञापनपत्र बुझाउने लामाले चेतावनी दिए ।

प्रतिक्रिया