मंगलबार, वैशाख ११, २०८१

‘मेहेन्दी खुब् मनपर्छ, म पनि लगाउँछु’

मीना साउँद २०७८ साउन १६ गते ९:३०

काठमाडौं । साउन महिनामा सप्तरंगी पहिरन, हातमा चुरा अनि मेहेन्दीले सजिन मन नपराउने नेपाली महिला प्रायः कमै होलान् । साउनलाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिइन्छ । धर्मकर्म गर्नेहरूका लागि पनि साउन महिना शुभ मानिन्छ ।

यस महिनामा भगवान् शिवलाई प्रसन्न पार्न हिन्दु महिलाहरूले सप्तरंगी पहिरन लगाउने, साउने सोमबार व्रत गर्ने, सक्नेहरूले महिनाभर माछा, मासु, लसुन, प्याजजस्ता कुनै कुरा नखाएर शिवको आराधना गर्ने गर्छन् भने नसक्नेले सामान्य रूपमा पनि शिवको भजन–किर्तन गरी शिवको आराधना गर्छन् । यसो गर्नाले भगवान् शिव प्रसन्न भई परिवारमा सुख, शान्ति, अमन–चयन हुन्छ भन्ने जनविश्वास छ । तर, पूर्वमिस नेपाल उषा खड्गी भन्छिन्, ‘मलाई यो सबै गर्न मन पर्दैन ।’ उनलाई अन्य महिलाहरू जस्तै साउन महिनाभर हरियो, पहेंलो वस्त्र लगाउन, चुरा लगाउन अनि मन्दिर जान सोमबार व्रत गर्न मान नपरे पनि सामान्य मेहेन्दी लगाउन भने मन पर्छ । उनी भन्छिन्, ‘मलाई हरियो–पहेंलो लुगा लगाउन, सोमबार व्रत बस्न, मन्दिर जान मन त पर्दैन तर हातमा मेहेन्दी भने लगाउँछु ।’ धर्मभन्दा कर्ममा बढी विश्वास गर्नेमा पर्छिन् उषा खड्गी । उनलाई पहिरनमा पनि क्याजुअल ड्रेस नै मन पर्छ । उनले भनिन्, ‘मलाई लुगाहरू पनि क्याजुअल नै मन पर्छ । अरू लुगाहरू त्यत्ति धेरै मन पराउँदिनँ ।’

पूर्वमिस नेपाल खड्गी पछिल्लो समय फेसन व्यवसायमा आबद्ध छन् । यसका अतिरिक्त उनी मोडलिङमा पनि सक्रिय छन् । बेलाबखत उनले अभिनय गरेको गीतहरू पनि हेर्न पाइन्छन् भने उनलाई दर्शकको पनि राम्रो सपोर्ट छ । सामाजिक सन्जालमा निकै सक्रिय उनले बेलाबेला विभिन्न डिजाइनका पहिरनका तस्बिरहरू सार्वजनिक गर्ने गरेकी छन् ।

आफैंमा एक फेसन डिजाइनरसमेत रहेकी खड्गी कुपन्डोलमा उषाज स्टायल कलेक्सन नामको बुटिक सञ्चालन गर्दै आएकी छन् । जसको भर्खर मात्रै दशौं वार्षिक उत्सव पनि मनाएकी छन् । खड्गीको विवाह नेपाल टेलिभिजनका पूर्वकार्यक्रम प्रस्तोता जीपी तिमिल्सिनासँग भएको थियो । उनले मानसिक यातना दिएको भन्दै सम्बन्धविच्छेद गरेकी थिइन् । करिब डेढ वर्षअघि मात्रै १७ वर्षे वैवाहिक सम्बन्धबाट छुट्टिएकी खड्गीका एक छोरा र छोरी छन् । तर पनि उनको सौन्दर्यमा कुनै कमी छैन ।

अझै पनि सबैभन्दा फिट पूर्वमिस नेपालको नाम लिनुप¥यो भने सबैको मुखमा उषा खड्गीको नाम आउँछ । दुई सन्तानकी आमा उनी आज पनि फिट र तन्दुरुस्त छिन् । कतिपय मिस नेपालले फिल्मलाई करिअर बनाउँछन् । तर, उषा भने म्युजिक भिडियोभन्दा अगाडि बढिनन् । उनले फिल्महरू नखेले पनि पेपर एड, इलेक्ट्रोनिक एडहरू थुप्रै गरेकी छन् ।

उषाको मिस नेपाल यात्रा
उषा खड्गी सातौं मिस नेपाल हुन् । उनले सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्रतियोगिताको ताज जितेकी थिइन् । उषा सन् १९९९ मा मिस पोखराको पहिलो उपविजेता पनि बनेकी थिइन् । पछि उनले सन् २००० मा मिस वीरगन्जमा भाग लिँदै पहिलो विजेता भएकी थिइन् ।

वीरगन्ज निवासी उत्तमबहादुर खड्गी र उर्मिला खड्गीकी सुपुत्री उषाले सन् १९९९ मा पोखरा सुन्दरी प्रतियोगितामा भाग लिई प्रथम उप-विजेताको उपाधि हासिल गरेकी थिइन् । तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले प्रवेशिका परीक्षा वीरगन्जको कन्या माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन् । त्यसपछि हरिखेतान महिला बहुमुखी क्याम्पस, वीरगन्जबाट आईए उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बीए (प्रथम वर्ष) मा अध्ययनरत थिइन् ।

वीरगन्जबाट उनले प्रतिनिधित्व गरेको मिस नेपाल प्रतियोगिता २००० काठमाडौं जेसिज र हिडन ट्रेजरले आयोजना गरेको थियो । उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः बिव रञ्जित र जस्मिन श्रेष्ठ भएका थिए ।

प्रतिक्रिया