रेबिजले ४ गाई मरे, २४ वटालाई खोप लगाइयो
चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ ।
महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् । ‘देवघाटमा मरेका गाईमा रेबिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रेबिजको खोप लगाइएको छ ।’ उनले भनेका छन् ।
गाई मरेको खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेबिजले मरेको पाइएको हो । महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ ।
सो क्षेत्रमा छाडारुपमा गाई छाडिएका छन् । घरमा पनि गाई पालिएको छ । पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाईनै पाल्ने गर्दछन् । उनका अनुसार रामपुर क्षेत्रमा पनि तीनवटा भैँसी मरेको भए पनि ती भैँसीको कारणले मरेका हुन् भन्ने विषयमा भने अध्ययन भइरहेको छ ।
प्रतिक्रिया