शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमितले भरियो भरतपुर अस्पताल

नेपालखोज २०७८ साउन १७ गते ११:१७

चितवन ।  भरतपुर अस्पतालमा कोरोना संक्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको संख्या पनि बढेको हो । संघीय अस्पताल भरतपुरमा कोरोना संक्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ ।

अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि छुट्ट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्ट्याएको छ । तीमध्ये अहिले १०४ शय्या संक्रमितले भरिएका छन् ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको संख्या ११२ पुगेको थियो । अहिले अस्पतालमा १०४ संक्रमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उनले बताए ।

पच्चीस एचडीयूमा तथा २१ जना सघन उपचारकक्षमा उपचाररत छन् ।  अस्पतालमा २५ शय्या क्षमताको सघन उपचारकक्ष छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्दा संक्रमित बढ्दै गएको बताए । उनले अस्पतालको शय्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिए । उनले भने, “अस्पतालमा कोभिडका लागि छुट्ट्याइएको शय्या भरिएको छ । अरु संक्रमितलाई भर्ना लिन सक्ने अवस्था छैन ।”

अस्पतालमा रहेका शय्या संक्रमितले भरिएपछि शय्या थप गर्ने विषयमा छलफल सुरु भएको उनको भनाइ छ । संक्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरुले पनि कोभिडको उपचार गर्नुपर्ने उनले बताए । उनले भने, “महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुपर्‍यो ।” संक्रमित बढ्दै गएसँगै चिकित्सकहरुलाई शय्या मिलाइदिनका लागि फोन आउन थालेको उनले बताए ।

अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा २१० जनाको उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचारकक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ । यस्तै, पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचारकक्षमा उपचाररत छन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हाल दुई हजार २३६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये दुई हजार १०६ होम आइसोलेसनमा, आठ सार्वजनिक आइसोलेसनमा र १२२ जना अस्पतालमा उपचाररत छन् । रासस

प्रतिक्रिया