बिहीबार, वैशाख ६, २०८१

विष्णुमती खोलाको हिउँदे पुल

सुनील उलक २०७८ साउन १७ गते १४:३२

काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसहरुको धर्म परम्परा, संस्कृति तथा दैनिक जीवनसँग गाँसिएको विष्णुमती नदी कुनै बेला स्वच्छ र सफा थियो । मानिसहरु यही नदीमा नुहाउने गर्दथे कपडा धुने गर्दथे र पिउनका लागि पनि प्रयोग गर्थे । समयकाल तथा उच्चतम् जनसंख्या वृद्धि र चेतनाको कमीले आज विष्णुमती फोहोरको ढल समान भएको छ ।

यो नदी हिन्दुहरुको आस्थासँग जोडिएको वाग्मती नदीमा टेकु दोभानमा पुगेपछि मिसिएको छ । काठमाडौं उपत्यकामा बग्ने पवित्र वाग्मती नदीमा वाग्मतीसहित सात मतीहरुको संगम हुने गर्दछ । यसैले वाग्मती नदीलाई सप्तमती पनि भन्ने गरिन्छ ।

शिवपुरीको उत्तर तर्फबाट वाग्मती नदी बहन थालेको छ । वाग्मतीको मूलद्वार भएको हुँदा यसलाई बागद्वार भन्ने गरिन्छ । साथै वाग्मती नदीलाई शिवको मुखबाट उत्पति भएको हुँदा शिवगंगा पनि भन्ने गरिन्छ । यही शिवपुरीको दक्षिणबाट भने विष्णुमतीको सुरुवात भएको छ ।

विष्णुमती नदीको मूलद्वार भएको हुँदा त्यस स्थानलाई विष्णुद्वार अथवा विष्णुपादुका भन्ने गरिन्छ । साथै विष्णुमती नदीलाई विष्णुको पाउ (खुट्टाको बूढी औंला) बाट उत्पत्ति भएको मान्ने गरिन्छ ।

करिब १५ किमि लामो विष्णुमती नदीमा फोहोर फाल्ने कार्यले गर्दा दूषित भई नदीजन्य जीवजन्तुहरु बस्दैनन् । जुन नदीमा कुनै पनि जीवजन्तु बस्दैन त्यस्ता नदीलाई मृत नदी भनिन्छ । अहिले विष्णुमती नदी पनि मृत नदी भएको छ । यो नदीको नजिकै पुग्नुभयो भने हातले नाक थुन्नुपर्ने हुन्छ । यस नदी किनारमा मानिसको सभ्यताको विकास भएको थियो भन्न पनि लाज हुने भइसकेको छ ।

यस नदी किनारको विभिन्न ठाँउमा मन्दिर पौवा तथा श्मशान घाटहरु रहेको छ । यस तस्बिरमा विष्णुमती नदी तर्नका लागि बनाइएको हिउँदे पुल देख्न सकिन्छ । यो हिउँदे पुलसँगै मानिसहरु हिँड्न मिल्ने पुल पनि थियो । तर पनि सहजताका लागि हिउँदमा पानीको बहाव कम हुने समयका लागि यस प्रकारको अस्थायी पुल बनाउने गरिन्थ्यो । यस पुलनजिकै लुँती अजिमाको मन्दिर छ ।

प्रतिक्रिया