शुक्रबार, चैत १६, २०८०

साउन २७ भित्रै पार्टी सदस्यता नवीकरण र अद्यावधिक सक्ने एमालेको निर्णय

नेपालखोज २०७८ साउन १७ गते १९:०८

काठमाडौं । नेकपा (एमाले) ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नविकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए ।

उनले भने– ‘स्थायी कमिटीको बैठक जारी छ । भोलि पनि बैठक हुन्छ । आज हामीले पार्टी सदस्यतालाई नविकरण गर्ने र अद्यावधिक गर्ने समय सिमा तय गर्या छौँ । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नविकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइ सक्नु पर्छ । यो किन गर्नु परेको हो भने भदौँ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि सदस्यता नविकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरेको छ ।’

महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले बताए ।

उनले भने – ‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरीसक्छौँ । र असोज ९ गते हामी पालिका स्तरको अधिवेशन गरीसक्छौँ । यो पनि निर्णय भएको छ । र विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौँ ।’ एमाले स्थायी कमिटी बैठक भोलि पनि बस्ने महासचिव पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया