मंगलबार, असोज १२, २०७८

ओलीको चेतावनी – सरकारले दमनको बाटो लियो, प्रतिवाद गर्छौं

नेपालखोज २०७८ साउन १७ गते १९:२३
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खानासमेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताए ।

तुलसीलाल स्मृति प्रतिष्ठानले आईतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खवरदारी समेत गरे । “यी सबै कुराहरुको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्दछौं ।” अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने, “प्रतिवाद गर्छौ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि ।” उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गरे ।

अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताए । उनले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप पनि लगाए ।

“पार्टीप्रतिको निष्ठा, इमान सब छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पुर्‍याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ।” अध्यक्ष ओलीले आक्रोशित हुँदै भने, “यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।”

अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दावी गरे । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताए ।

प्रतिक्रिया