बुधबार, वैशाख १२, २०८१

केन्द्रीय विभागलाई पूर्णता दिन एमाले स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ साउन १८ गते ७:५९
फाइल फोटो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्रोतले जनाएको छ ।

आजको बैठकमा पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

यसअघि हिजो बसेको बैठकले भदौ २७ र २८ गतेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन गरिएको थियो । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । प्रस्तावहरूलाई अन्तिम रूप दिन साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय आइतबारको बैठकले गरेको छ ।

त्यस्तै बैठकले सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय पनि बैठकले गरेको थियो ।

प्रतिक्रिया