बिहीबार, चैत १५, २०८०

महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

नेपालखोज २०७८ साउन १८ गते १७:२९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि.सँग आज सोमबार सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाशुल्कहरुमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स-रे तथा भिडियो एक्स-रे सेवा र इसीसी तथा इको सेवामा अधिकतम १० प्रतिसत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा पाँच प्रतिसतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

प्रतिक्रिया